रोबिन हटसन : असफल विद्यार्थी, सफल उद्योगी

होटल व्यवसाय क्षेत्रको कुरा गर्दा रोबिन हटसनलाई बिर्सिए त्यो अपूरो हुन्छ । हटसन बेलायतका प्रसिद्ध र सफल होटल व्यवसायी हुन् । होटल व्यवसाय क्षेत्रमा उनको नाम, मान र सम्मान छ ।

रोबिन हटसन विद्यालयमा पढ्दा असफल विद्यार्थी हुन् । उनले पढाइमा राम्रो प्रतिशत हासिल गर्न सकेनन् । तरपनि, व्यवसाय गरेर सफल उद्योगपति बने । करोडौंका मालिक बने । उनको जीवनी रोचक र प्रेरणादायी छ ।

भनिन्छ, असफलता नै सफलताको सिँढी पनि हो । विद्यालयको परीक्षामा उनी असफल हुँदैनथे भने सायद उनको यत्रो वैभव पनि हुँदैनथ्यो होला । सफल उद्योगी भएर चर्चित हुँदैनथे होला ।

अतीतका दिनहरूको स्मरण गर्दै ६२ वर्षीय रोबिन हटसन भन्छन्, “परीक्षामा मैले गलत गरेँ यसले मलाई अगाडि पढ्ने मौका दिएन ।”
“मलाई अरू कुनै बाटो रोज्नुपर्ने भयो ।

त्यसबेला म सोह्र वर्षको थिएँ । युवतीहरूका पछि लाग्नुभन्दा अरूमा मेरो रुचि पनि थिएन ।”
“र, मेरी आमा भन्नुहुन्थ्यो– भान्साका सामानहरू यताबाट उता सार्नमा म रमाउँथेँ ।”

छोराको रुचि यसैमा छ भनेर सायद हटसनकी आमाले उनलाई होटल तथा क्याटरिङ क्षेत्रमा कोर्स गर्ने सल्लाह दिइन् । यही सल्लाह नै रोबिनको हस्पिटालिटी क्षेत्रको प्रवेशद्वार बन्न पुग्यो ।

‘होटल डु भिन’ को शुरुआतका लागि रोबिन र उनकी पत्नी जुडीले आफ्नो घर पनि बन्दकी राखेका थिए। १० वर्ष काम गरेपछि रोबिन र उनका अर्का पार्टनरले यस होटललाई ६६ मिलियन पाउण्ड अर्थात् करीब दश अर्ब नेपाली रुपैयाँमा बेचिदिए।

उनको कम्पनी ‘होम ग्रोन होटल्स’को वार्षिक कमाइ २० मिलियन पाउण्ड अर्थात् करीब १८० करोड रुपैयाँभन्दा धेरै हुने गर्छ ।
रोबिन हटसनको करियरलाई बेलायतका प्रभावशाली होटल कारोबारीका रूपमा लिइन्छ ।

रोबिनले सदैव होटलको ब्राण्ड, खाना तथा अफरलाई जोड दिने गर्थे ।
रोबिन अत्यन्त मिहिनेती थिए ।

उनले लण्डनको एक फाइभस्टार होटल ‘क्लेरिज’ मा वेटरबाट आफ्नो कामको शुरुआत गरेका हुनाले पनि मिहिनेतलाई उनले सर्वोपरि ठान्थे ।

क्लेरिजपछि उनी पेरिस गए । पेरिसको ‘क्रिलियन’ होटलमा काम गरेपछि रोबिन जब लण्डन आए । त्यसबेला उनी २४ वर्षका भइसकेका थिए । त्यसपछि रोबिन ‘बर्कले’ होटलको सबभन्दा युवा रिसेप्सन मेनेजर बने ।

यात्राको अर्को ठेगाना थियो बर्मुडा । जहाँ उनले दुई वर्ष बिताए ।
ढिलोचाँडो उनलाई बेलायत फर्कनु थियो । बेलायत फर्केर उनले ह्याम्प्सरको एक होटलमा जनरल मेनेजरको काम गर्न थाले । त्यसबेला उनको उमेर २८ वर्षको थियो ।

ह्याम्प्सरको यस होटलमा आठ वर्ष काम गरेपछि रोबिनले अब आफैले केही गर्नुपर्छ भन्ने निर्णय गरे ।

रोबिन भन्छन्, “मेरो उमेर ४६ वर्ष भइसकेको थियो । अरूको काम गर्दागर्दै दिनहरू बितिरहेका थिए ।”
“मैले आफूलाई आफैसँग प्रश्न गरेँ– यस अगाडिको जिन्दगीका लागि म के गर्न चाहन्छु । मैले आफै मिहिनेत गर्नुपर्छ वा अरू नै केही गरूँ ।”

रोबिनको सिटी सेन्टर होटलमा एक बुटीक थियो जहाँ उनले राम्रो मदिरा र स्तरीय खानाको व्यवस्थापन गरे यसरी व्यवसाय यात्राको सिलसिला चल्दै गयो ।

सन् १९९४ मा रोबिनले आफ्ना साथी जेरार्ड बासेटकासाथ एक टीम बनाए । र, ह्याम्प्सरको विन्चेस्टरमा होटलको शुरुआत गरे । यसका लागि लगानीको आवश्यकता थियो । रोबिनले पत्नीलाई घर बन्दकी राख्न राजी गराए।

रोबिन र गेरार्डले पाँच लाख पाउण्ड साथीहरूबाट जुटाए । ब्याङ्कबाट साढे सात लाख पाउण्ड ऋण लिए।
दुवैका लागि यो चुनौतीपूर्ण क्षण थियो । एक–एक पैसाका लागि हिसाब–किताब गर्थे उनीहरू ।

रोबिन र गेरार्ड काम सिद्धिएपछि सोफामा नै सुत्दथे । उनीहरू हरेक प्रकारका काम गर्थे । खाना बनाउनेदेखि लिएर वेटरको काम पनि उनीहरू सबै गर्थे । सानो ठूलो वा सङ्कोच केही नमानी उनीहरू काम गर्थे । व्यवसाय सञ्चालनको पहिलो वर्षमा नै उनीहरू नाफामै थिए ।

न्यूयोर्कमा ‘पिग रेस्टुरा’बाट प्रेरित भएर रोबिनले आफ्नो होटलको नाम पनि ‘द पिग होटल’ राखे ।
होटलमा आउने पाहुनाका लागि केही नयाँ गर्ने चाहना उनीहरूमा तीव्र थियो ।

त्यसैले उनीहरूले हेटलको बारमा दूध र कफी ‘सर्भ’ गर्ने कामको व्यवस्थापन गरे । यद्यपि अहिले दूध र कफी सर्भ गर्ने काम त्यस्तो नयाँ नलागे पनि त्यसबेला यसलाई एक क्रान्तिकारी कदमका रूपमा लिइयो ।
त्यसपछि रोबिन हाउस प्राइभेट क्लब चेनको चेयरमेन बनेर काम गर्न थाले ।

सन् २००८ मा रोबिनले ह्याम्सरमा एउटा फाइभस्टार होटलको शुरुवात गरे । जसको नाम उनले ‘लाइम वुड’ राखे । सन् २०११ मा ‘द पिग’ चेनको पहिलो होटल खोलियो ।

रोबिनको यस प्रयासलाई उनकी पत्नी जुडीको साथ मिल्यो । जुडीले होटलको इन्टेरियर सम्हाल्थिन् । रोबिनले होटलको नाम पनि सोचेरै राखेका थिए ।

रोबिनलाई न्यूयोर्कको प्रसिद्ध रेस्टुरेन्ट ‘द सपोर्टेड पिग’ उनलाई असाध्यै मन पथ्र्यो, यसैबाट प्रेरित भएर नै उनले आफ्नो चेनको नाम राखेका थिए।

होटल इन्डस्ट्रीको म्यागजिन बुटीक होटलिएरका सम्पादक जोय मोन्क भन्छिन्– रोबिनको सफलताको राज भनेकै उनले बजारको चाहना बुझ्थे ।

उनलाई होटल उद्योगका बारेमा रहेका कमीकमजोरी बारे थाहा थियो । साथै नयाँपन कसरी दिन सकिन्छ भन्नेमा उनी अत्यन्त सचेत थिए । हाल होटल क्षेत्रमा के कुराको कमी छ त्यो बुझेर पूरा गर्नतर्फ लाग्थे ।

सन् २०११ मा रोबिनले ‘द पिग’ नामक अर्को होटल सञ्चालन गरे । दक्षिण इंग्ल्याण्डमा अहिले ६ ठाउँमा रोबिनका होटलहरू छन् ।

एजेन्सी
 

Comments

Back to top