तपाईंलाई थाहा छ नेपालका यी रोचक तथ्य ?

पृथ्वीको नक्सामा दुई ठूला देशहरू चीन र भारतको बीचमा रेको इँटा आकारको सानो देश छ । आकारमा सानो त्यो देश हो, नेपाल ।

आकारमा सानो भए पनि यस देशका अनेक रोचक विशेषता रहेका छन् । भौगोलिकदेखि सांस्कृतिकसम्म अनेक विविधतापूर्ण विशेषताले भरिएको देश हो नेपाल ।

नेपालका केही रोचक तथ्यबारे यहाँ उल्लेख गरिएको छ, जुन तपाईंलाई पनि रमाइलो लाग्ने अपेक्षा छ ।

विश्वका आठवटा अग्ला हिमाल

नेपाल हिमालै हिमालको देश भनेर चिनिन्छ । उसो त डुंगादेखि रूखका बुटासम्ममा भगवान् देख्ने नेपालीहरूले मन्दिर पनि उत्तिकै बनाएका छन् ।

हिमालको सन्दर्भमा नेपालमा विश्वका ८ हजार मिटरभन्दा अग्ला आठवटा अग्ला हिमाल नेपालमा पर्छन् । यीमध्ये ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णदेखि ८ हजार ८४८ मिटर अग्लो विश्वकै छानो सगरमाथासम्म यहीँ पर्छन् । यी दुई हिमालसँगै ८ हजार ५ सय ८६ मिटर अग्लो कंचनजंघा, ८ हजार ५१६ मिटर अग्लो ल्होत्से, ८ हजार ४८१ मिटर अग्लो मकालु, ८ हजार २०१ मिटर अग्लो चो यु, ८ हजार १६७ मिटर अग्लो धौलागिरि १, ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल पनि नेपालमै पर्छन् ।

यी हिमाल आरोहण गर्न र घुम्न हजारौँ पर्यटक नेपाल आउने गरेका छन् ।

सबैभन्दा गहिरो खोँच

नेपाल अग्ला हिमालको देश भनेर त विश्वमा चिनिएकै छ । गहिरो खोँच पनि नेपालमै छ भन्दा आश्चर्य लाग्नु स्वाभाविक हो। हो, नेपालमा कालीगण्डकीको खोँच विश्वकै दोस्रो गहिरो खोँच हो । यो खोँच ४ हजार ३७५ मिटरको छ । यो खोँच अन्नपूर्ण र धौलागिरिको बीचमा कालीगण्डकी नदीले बनाएको खोँच हो ।

भौगोकि उचाइमा विविधता

नेपाल मात्र यस्तो देश हो, जहाँ ५९ मिटरदेखि ८ हजार ८४८ मिटरसम्मको उचाइ रहेको छ ।

यसरी नै विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल (४ हजार ८०० मिटर पनि यहीँ पर्छ । सबैभन्दा अग्लो उपत्यका अरुण उपत्यका र गहिरो घाँटी कालीगण्डकी (एक हजार २०० मिटर) तथा अग्लो घाँसे मैदान चितवनमा, पनि नेपालमै रहेका छन् ।

हिन्दुबहुल देश

नेपाल विश्वमै हिन्दुबहुल मुलुक हो । यहाँ ८० प्रतिशतभन्दा बढी हिन्दु धर्म मान्ने मानिसहरू बसोवास गर्छन् । गणतन्त्र घोषणा हुनुपूर्व हिन्दु अधिराज्य रहको नेपाल गणतन्त्रपछि धर्मनिरपेक्ष बनेको हो । तर, हिन्दु राज्यको माग गर्दै केही राजनीतिक दल र समूहहरू निरन्तर आन्दोलन र अभियानमा सक्रिय छन् ।

हिन्दुपछि झण्डै ११ प्रतिशत बुद्ध धर्मावलम्बी, ४ प्रतिशत मुस्लिम र ४ प्रतिशत अन्य धर्म मान्नेहरू यहाँ बसोवास गर्ने गरेको तथ्यांक छ ।

बुद्धको जन्मभूमि

विश्वभर शान्तिको सन्देश दिने गौतम बुद्धको जन्म पनि नेपालमै भएको हो । नेपालको कपिलवस्तुमा बुद्धको जन्म भएको इतिहास छ । बुद्धको मार्गलाई बुद्ध धर्मका रूपमा विश्वभर अनुसरण गर्दै आइएको छ । कतिपय देशहरू त बुद्ध धर्मप्रधान देश पनि छन् ।

अतिखतरनाक जनावर भएको देश

नेपाल भौगोलिक, सांस्कृतिक हिसाबले मात्र होइन, पर्यावरणीय हिसाबले पनि अनौठो मुलुक हो । यहाँ निकै खतरनाक मानिएका जीवजन्तु पनि पाइन्छन् ।

नेपालमा हिमचितुवा एसियन गैँडा, बंगाल टाइगर, डल्फिन, बिषालुमध्येको सर्प गोमन, इन्डियन अजिंगर, घडियाल, गोही, कछुवालगायतका जीवजन्तु रहेका छन् । एक सिंगे गैडा पनि नेपालमै रहेको छ ।

हिममानव यती पाइने ठाउँ

नेपालमा हिममानव यती पाइने गरेको उल्लेख छ । हिमाली भेगका मानिसहरू हिमालमा पाइने मानव यती भेटिएको बताउँछन् । उनीहरूका अनुसार हिमाली भेगमा हिउँमा ठूलाठूला पाइतालाका छाप जुन भेटिन्छन्, ती यतीका पाइतालाका छाप हुन् ।

त्यसो त योगी नरहरिनाथले पनि टाढाबाट यती देखेको कुनै ठाउँम लेखेका छन् । उनले यतीको भौतिक शरीर र हाउभाउ अनि चालबारे पनि उल्लेख गरेका छन् । यद्यपि, त्यसपछि यतीको अस्तित्व देख्नेहरू भने भेट्न मुस्किल छ । कतिपयले यती देखेको दाबी गरे पनि यतीको तस्बीर लिन र विश्वस्त तुल्याउन भने सकेका छैनन् । तर, नेपालको हिमाली भेगमा यती रहने गरेको धेरै पर्यटक र अनुसन्धाताले बताउँदै आएका छन ।

‘वीर’ गोर्खालीको मुलुक

नेपाललाई वीर गोर्खालीको मुलुक भनेर पनि चिनिन्छ । इतिहासमा विश्वविजेता बेलायतलाई नेपाली (गोर्खाली) सैनिकले परास्त गरेको उल्लेख छ । सोही कारण बेलायतले नेपालीहरूलाई आफ्नो सेनामा भर्ना गर्न थाल्यो ।
आज पनि नेपाली (गोर्खाली)हरू बेलायती र भारतीय सेनामा कार्यरत छन् । वीर मात्र नभएर इमान्दार र वफादार भनेर चिनिएका नेपालीका बारेमा विश्वविजेता नेपोलियन बोनापार्टले भनेका थिए रे– ‘मलाई संसारका कसैसँग डर लाग्दैन तर गोर्खालीको नाम सुन्नेवित्तिकै मुटु काँप्छ ।’

यसरी नै गोर्खालीको पहिचान खुकुरी पनि हो । खुकुरी नचाएरे हाम्रा पुर्खाले अंग्रेजहरूलाई लखेटेका इतिहास स्वर्ण अक्षरले लेखिएको छ ।

नेपालको पात्रो

पश्चिममा ग्रेगोरियन क्यालेन्डर प्रयोग हुन्छ भने नेपालमा भिन्नै क्यालेन्डर प्रयोग हुन्छ, जसलाई नेपाली पात्रो वा विक्रम संवत् प्रयोग हुन्छ । यसमा चन्द्रमास र सूर्यमास दुवै हुन्छ । नेपाली पात्रो ग्रेगोरियन पात्रोभन्दा झण्डै ५७ वर्ष ८ महिना अगाडि छ।

नेपालको पात्रोको अर्को विशेषता भनेको यहाँका विभिन्न जात र समुदायका आआफ्नै किसिमका पात्रोहरू छन् । र, कतिपयका पशुपंछीका नाममा राखिएका वर्षहरू पनि छन् ।

खानपान

नेपालीहरूको खानपान प्रायः एकै खालको पाइन्छ । नेपालीहरू दैनिक भोजनमा दाल, भात, तरकारी, अचार मनपराउँछन् ।

नेपालको नक्सा र पोर्चुगलको नक्सा उस्तै

विश्वको मानचित्रमा नेपाल र युरोपेली मुलुक पोर्चुगलको नक्सा उस्तै देखिन्छ । चतुर्भज आकारका यी दुई देशको नक्सामध्ये नेपालको नक्सालाई ठाडो पार्दा वा पोर्चुगलको नक्सालाई तेर्सो पार्दा उस्तै देखिन्छन् ।

गाई मार्नु अपराध

नेपाल हिन्दुबहुल मुलुक हो । यहाँ ८० प्रतिशतभन्दा बढी हिन्दु धर्म मान्नेहरू बसोवास गर्छन् । हिन्दु धर्ममा गाईलाई आमा समान मानिएको छ । यसर्थ हिन्दु धर्ममा गाई मार्नु अपराध मानिन्छ । नेपालमा पनि गौबध वा गाई मार्नु अपराध मानिन्छ । गाईलाई नेपालमा राष्ट्रिय जनावर पनि मानिन्छ ।

दर्जनौँ विश्व सम्पदा सूचीमा परेका क्षेत्र

नेपाल यस्तो देश हो, जहाँ युनेस्कोको विश्व सम्पदा सूचीमा परेका दर्जनौँ क्षेत्र र विषय छन् । यसरी नै काठमाडौंलाई ‘जीवन्त सांस्कृतिक संग्रहालय’ पनि भनिन्छ ।

त्रिकोणात्मक झण्डा

नेपालको झण्डाको आकार विश्वका अन्य देशका झण्डाको आकारभन्दा फरक छ । नेपालको झण्डा त्रिकोणात्मक दुई भागबाट बनेको छ, जसमा चन्द्र र सूर्य अंकित छन् । अन्य देशका झण्डा चतुर्भुजाकारमा छन् । नेपालको झण्डाको किनारामा गाढा नीलो रङ र त्रिकोण भागमा रातो रङ छ ।

स्वतन्त्र राष्ट्र

नेपाल इतिहासमै कहिल्यै उपनिवेश रहेन । स्वतन्त्र मुलुकका रूपमा नेपाल आजसम्म अस्तित्वमा छ । उपनिवेशमा नरहनुका कारण नेपालको अन्य देशको जस्तो ‘स्वतन्त्रता दिवस’ छैन ।

जीवित देवी कुमारी

नेपालमा सांस्कृतिक, भाषिक, भौगोलिक, प्राकृतिक विविधता हुनु नेपालको खास विशेषता हो । नेपाल धर्मनिरपेक्ष मुलुक घोषित भए पनि यहाँ प्रायः विभिन्न धर्ममा आस्था राख्नेहरूको बाहुल्य छ ।

नेपालका विशेषगरी काठमाडौंका नेवार समुदायमा कुमारीलाई पूजा गर्ने प्रचलन छ । कुमारी जीवित देवीका रूपमा पुजिन्छिन् । कुमारीको अर्थ मासिकश्राव सुरु नभएकी कन्या भन्ने बुझिन्छ ।

अभिवादनमा नमस्ते

नेपालीहरू एकअर्कालाई भेट्दा, आदर गर्नुपर्नेसँग भेट्दा वा देवालयहरूमा पुग्दा दुई हात जोडेर नमस्कार गर्ने गर्छन् । अन्तःस्करणबाटै अभिवादन गरिएको दर्शाउने नेपालीको यो तरिका विश्वमै भिन्न मानिन्छ ।

एजेन्सी

Comments

Back to top