जे. के. रोलिङः असफलताबाट सफलताको शिखर चुम्न सफल ब्रिटिश उपन्यासकार

ब्रिटिश उपन्यासकार जे.के. रोलिङको खास नाउँ जोनी रओलिङ हो । उनी रोबर्ट गल्ब्रेथको उपनाउँ बाट पनि लेख्ने गर्छिन् । उनी ३१ जुलाई १९६५ मा बेलायतको ग्लसेस्टरशायर प्रान्तको यटे शहरको यटे जनरल हस्पिटलमा जन्मेकी थिइन्। आन रओलिङ नाम गरेकी उनकी आमा विज्ञान प्राविधिक थिइन् भने बाबु पिटर जेम्स रओलिङ रोल्स रयस कम्पनीका एअरक्राफ्ट इञ्जिनीयर थिए । उनले स्थानीय सेन्ट माइकल्स प्राइमरी स्कुलमा प्राथमिक शिक्षा प्राप्त गरेकी थिइन् । उनी ९ वर्षकी हुँदा उनको परिवार साउथ वेल्सको चेपस्टोया बसाइँ सरेको थियो । उनी सानै उमेरदेखि केही न केही लेख्ने गर्थिन् । सिन नाउँ गरेको उनको एउटा मिल्ने साथीले कुनै दिन तिमी राम्रो लेखक बन्नसक्छ्यौ भन्दा उनी ज्यादै उत्साहित भएकी थिइन् ।

महिलाले लेखेको पुस्तक पाठकहरुले नरुचाउने हुन् कि भन्ने लागेर उनका प्रकाशकको अनुरोधमा उनले जोनी रओलिङबाट जे.के. रअलिङ उपनाम राखेकी थिइन् ।

उनी उपन्यासकार बाहेक एक मानवतावादी, फिल्म तथा टेलिभिजन प्रोड्युसर र स्क्रीन राइटर समेत हुन् । खास गरी केटाकेटी र युवाहरुको निम्ति लेखिएका स्वैरकल्पनामा आधारित (Fantasy) उपन्यास श्रृ◊ला ह्यारी पोर्टरबाट उनी प्रसिद्ध छन् । यस पुस्तक श्र◊लाले अनेकौँ पुरस्कारहरु जितेको छ भने यसका ५० करोडभन्दा बढी प्रतिहरु विक्री भैसकेको बताइन्छ । इतिहासमा यस पुस्तकलाई सबैभन्दा बढी विक्री भएको पुस्तक भनिन्छ । यसैको आधारमा उनको स्वीकृतिमा फिल्मका पटकथा समेत बनेका छन् ।
स्कुलको पढाइ सकेपछि उनलाई इङ्लिस पढ्ने इच्छा थियो, तर उनका आमा बुवाले युनिभर्सिटी अफ एक्सटरमा फ्रेञ्च पढ्ने सल्लाह दिए । प्यारिसमा एक वर्ष फ्रेञ्च पढेपछि सन् १९८६ मा उनी ग्राजुएट भइन् । सन् १९९० मा राओलिङ अंग्रेजी भाषा पढाउन पोर्तुगल गएकी थिइन् । त्यहाँ उनको पोर्तुगिज पत्रकार जर्ज अरान्तेसँग सम्पर्क भयो र ती दुबैको विहे भयो । उनी लण्डनमा विभिन्न कामहरु गर्न थालिन् । त्यसमध्ये एमनेस्टी इन्टरनेशनलको जागीर एक थियो ।

उनी एमनेस्टी इन्टरनेशनलमा शोधकर्ता तथा दोभाषेको रुपमा जागीर खान्थिन् । त्यसै बखत एकपटक सन् १९९० मा लामो यात्रामा म्यान्चेस्टरबाट लण्डन आउँदा ट्रेन ढिलो भएको अवस्थामा उनलाई ह्यारी पोर्टरको कथा सुझेको थियो । त्यसपछिका सात वर्षमा उनकी आमाको देहान्त भयो, सन् १९९३ मा उनको पहिलो सन्तान, छोरी जेस्सिका जन्मीे, उनले पहिलो श्रीमान जर्ज अरान्तेसबाट सन् १९९५ मा डिभोर्स लिइन् र उनको पहिलो श्रृ◊लाको उपन्यास ह्यारी पोट्टर र दार्शनिकको ढुङ्गा (Harry Potter and the Philosopher’s Stone) , 1997)) प्रकाशित नहुन्जेल उनले गरिबीको सामना समेत गरिन् । अरान्तेसँग डिभोर्स भएपछि उनी एडिनबर्ग बस्न थालेकी थिइन् ।

पहिलो पुस्तक लेखी सकेर प्रकाशनको निम्ति उनी प्रकाशकहरुहरुलाई भेट्न गइन् । बाह्रओटा प्रकाशकहरुलाई उनले भेटिन् । ती सबैले पुस्तक छाप्न अस्वीकार गरे । एउटा खासै नाउँ नचलेको ब्लुम्सबेरी चिल्ड्रेन्स बुक्स भन्ने प्रकाशन गृहले चाहिँ २,५०० पाउण्ड रोयल्टी दिने शर्तमा छाप्न स्वीकार गर्‍यो । 

उनले ह्यारी पोर्टरका छओटा श्रृ◊ला पुरा गरिसकेकी छन् । अन्तिम श्रृ◊ला ह्यारी पोर्टर र साङ्घातिक पवित्रता (Harry Potter and the Deathly Hallows) को प्रकाशन सन् २००७ मा भएको थियो । त्यसपछि रओलिङले युवा र केटाकेहीहरुका लागि पाँच पुस्तकहरु लेखिसकेकी छन् । ती पुस्तकहरु हुन्ः आकस्मिक रिक्त पद (The Casual Vacancy, 2012) र रोबर्ट गल्ब्रेथ उपनाउँले लेखिएका अपराध उपन्यासहरु कुक्कुको कुहुँ कुहुँ (The Cuckoo’s Calling, 2013), रेशम किरो (The Silkworm, 2014)(Career of Evil, 2015 र साङ्घातिक गोरा  (Lethal White, 2018) हुन् ।

एकजना सामान्य आर्थिक स्तरकी महिला बेलायतकी सबैभन्दा धनी लेखक बनिन् । उनले अनेकौँ परोपकारी संस्थाहरु, गरिव परिवार र अनाथहरुलाई आर्थिक सहयोग नगरेकी भए उनी विश्वकै अर्बपति महिला हुने थिइन् । फोर्बस म्यागजिनका अनुसार किताब विक्री गरेर सन् २०१७ मा ७२ मिलियन स्टर्लिङ पाउण्ड कमाउने उनी संयुक्त अधिराज्यकी सबैभन्दा बढी बिकाउ लेखक बनिन् । सन् २०१६ मा सन्डे टाइम्स म्यागेजिनले प्रकाशित गरेको रओलिङको सम्पत्ति करिव ६५० मिलियन स्टर्लिङ् पाउण्ड थियो । यसबाट उनको आर्थिक हैसियत यु के का धनी मानिसहरुको सूचीमा १९७ औँ नम्बरमा पर्थ्यो।

एजेन्सी

Comments

Back to top