शेक्सपियर : बहुप्रतिभाशाली साहित्यकार
‘यदि सङ्गीत प्रेमको खाना हो भने यसलाई बज्न देउ’ यो भनाइ कसको हो ? रोमियो र जुलियटको कहानी त तपाईँहरुले पढ्नु या सुन्नु भएकै होला । यो भनाइ हो महान् नाटककार तथा लेखक विलियम शेक्सपियरको । सेक्सपियर अंग्रेजी कवि, नाटककार र अभिनेता थिए, जो अंग्रेजी भाषाका महत्वपूर्ण लेखकमध्ये एक थिए । उनी इङ्ल्याण्डका राष्ट्रिय कवि तथा ‘वर्ड अफ एवान’का नामले निकै परिचित थिए ।
सन् १५६४ अप्रिल २६ मा इङ्ल्यमण्डमा जन्मिएका विलियम शेक्सपियर विश्वप्रसिद्ध कवि तथा नाटककार हुन् । जोन सेक्सपियर र मेरी अर्डेनका उनी तेस्रो सन्तान हुन् । उनी एक किसानका छोरा थिए । उनको परीवारमा साहित्य लेखनसँग कसैको सम्बन्ध थिएन । तर, उनलाई खेती किसानीभन्दा पनि नाटकमा रुचि थियो । उनले सानैमा एक नाटक देखे र नाटककार बन्ने निर्णय गरे ।
उनको नाटककार बन्ने सपना सन् १५९२ मा सफल भयो जब उनी लण्डन थिएटरसँग जोडिए र छोटो अवधिमा सबैमाझ लाकप्रिय बने । उनले स्थानीय स्कूलबाट शिक्षा लिई ल्याटिन लेखकहरुबाट व्याकरण सम्बन्धि ज्ञान लिएका थिए । १८ वर्षको उमेरमै विवाह गरेका उनी लेखन यात्रा शुरु गर्नुभन्दा अघि विद्यालयमा पढाउने गर्दथे । ल्याटिन लेखकहरुको प्रभावले नै उनलाई लेखनमा रुचि जाग्यो र नाटबाट लेखन यात्राको शुरुवात गरे ।
उनको पहिलो नाटक सन् १५९२ मा बेलायतमा मञ्चन गरियो। सोहि नाटकबाट प्रसिद्धि कमाएका उनले थुप्रै प्रशंसक र आलोचक पनि कमाए । उनले आफूले लेखेका धेरै नाटकहरुमा अभिनयसमेत गरेका छन् । सन् १५९३ र १५९४ को विपत्तिले नाटक मञ्चनमा अवरोध सिर्जना भएपछि उनी कविता लेख्न थाले । उनको लेखन शैली अरुभन्दा भिन्न र सिर्जनात्मक थियो । उनले परम्परागत र नयाँ दुवै शैलीलाई जोडेर आफ्नो छुट्टै नयाँ शैली बनाएका थिए ।
उनको आफ्नै छुट्टै ब्राण्ड बन्यो, जसले गर्दा उनको आर्थिक हैसियत पनि माथि उठ्यो । लेखेर जीवनयापन गर्न नसकिने उक्त समयमा पनि उनका लागि लेखन व्यवसाय नै बन्यो । उनले आफ्ना साथै अरुका नाटकमा पनि अभिनय गरे । उनका १५ वटा नाटक प्रकाशित भए, जो आज पनि उत्तिकै लोकप्रिय छन् ।
उनले घरजग्गा सम्बन्धि व्यवसाय शुरु गरेपछि उनी ढुक्कसँग लेखन यात्रामा लागे । शेक्सपियरले नाटपछि कविता कोर्न थाले । अ लभर्स कम्प्लेन, द फोनिक्स एण्ड द टर्टल, वेनोस एण्ड एडोनिस उनका प्रसिद्ध कविताहरु हुन् । विश्व साहित्य उनी बिना अपुरो मानिन्छ । उनका नाटकहरुमा दुखसुख, हास्यव्यङ्ग्य सबै प्रकारको भाव पाइन्छ । ‘द कमेडी अफ इयर, रामियो एण्ड जुलियट, द मर्चेन्ट अफ बेनिस, एज यु लाइक इट, हेमलेट, जुलियस सिजर’ आदि उनका विश्व प्रख्यात नाटक हुन् ।
आज ४ सय वर्षपछि पनि उनका नाटक मानिहरुका लागि उत्तिकै प्रभावशाली छन् । उनका कविता अहिलेसमेत विद्यालयका पाठ्यक्रममा पढाई हुन्छन् । सन् १६०९ मा छापिएको सोनेट्स संग्रह उनको अन्तिम कृति थियो । उनको मृत्यु ५२ वर्षको उमेरमा सन् १६१६ मा भएको थियो ।
उनका केही प्रेरक भनाइहरु विश्वप्रख्यात छन् । ‘सबैलाई प्रेम गर, थोरैलाई विश्वास गर र कसैलाई पनि हानी नगर ।’ ‘कायरहरू मर्नुपूर्व धेरैपटक मरिसकेका हुन्छन् ।’ ‘निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।’ ‘यदि सङ्गीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।’
उनका भनाइहरुमा ‘साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।’ ‘धेरै सुन, थोरै बोल ।’ ‘यहाँ न असल छ, न त खराब नै असल–खराब त हाम्रो सोचाइको उपज हो ।’ ‘एउटा रित्तो भाँडोले नै ज्यादा आवाज निकाल्छ ।’ ‘हामी को हौं, यो हामीलाई थाहा छ । तर, के हामी के बन्न सक्छौ यो थाहा छैन।’ ‘प्रेम अन्धो हुन्छ’ आदि ।
एजेन्सी
Comments