सफल उद्यमी दिलीप अग्रवालको जीवनी र वर्ल्डलिंक

बौद्धिक व्यक्तित्व डा. विश्वनाथ अग्रवाल मारवाडी भएर पनि व्यापारी साहू महाजनको जस्तो सामान गोदाममा थन्क्याउने र विक्री गर्ने नभई एउटा सम्भ्रान्त ‘एकेडेमिक’ हुन् । गोदाममा मालसामान थन्क्याउनुभन्दा दिमागको गोदाममा ज्ञान र सीप थन्क्याउन रुचाउने व्यक्ति रहेछन् उनी ।
विश्वनाथ अग्रवालले एउटा छोरालाई डाक्टर र अर्कालाई इन्जिनियर बनाउन चाहेका थिए । बाबुको चाहना भन्दा पर गएर छोरा दिलीप अग्रवाल व्यवसाय तिर छिरे । यद्यपि दिलीप पनि एकेडेमिक परिवारमा नै हुर्केका हुनाले न्युरो साइन्समा रुचि राख्थे ।

बाल्यकालमा उनी बाबुसँग अमेरिका गएका थिए । प्राथमिक शिक्षा उतै लिए । पीएचडी गर्न अमेरिका गएका बाबुसँगै भएका दुई छोरालाई किनिदिएको कम्प्युटर कुनै दिन वरदान हुन्छ भन्ने दिलीपलाई थाहा थिएन । कम्प्युटरको कीरो बन्न चाहन्थे उनी । समय मिलिरहेको थिएन ।

हुन त बाबु विश्वनाथ अग्रवाल नेपालका सुविख्यात एकेडेमिक थिए तर छोरालाई पढ्न हजारौं डलर पठाउन सक्दैनथे । उनी आफ्ना छोराहरुले विदेशमा भड्किएर जीवन नबिताउन् भन्ने पनि चाहन्थे । त्यसैले पारिवारिक खर्च कटाई छोराहरुलाई पढ्ने खर्च पठाउन खोजेका थिए । यसका लागि उनले अमेरिकामा बस्ने आफ्ना साथीहरुलाई गुहारे पनि । तर दिन्छु भन्ने साथीले दीलिपलाई फुटेको कौडी पनि दिएनन् ।

आखिर दिलीपले अमेरिकामा आफ्नो पढाई चालू राख्न केही महिना १७-१८ घण्टा सम्म कहिले होटलको वेटर त कहिले क्लिनर भएर काम गरे । दिलीपको पढाइ राम्रो भएकाले आखिर उनी अध्ययन गर्ने कलेजले २५,००० डलरको स्कलरसिप दियो । स्कलरसिप प्राप्त गरेपछि दिलीपको पढाई एकदम राम्रोसँग सम्पन्न भयो ।

आइटीमा बाल्यावस्था देखि नै रुचि हुँदाहुँदै पनि दिलीपले बाबुको पाइलामा साथ दिए । बायोकेमिस्ट्रीको पढाइ गरे । पढाइ सिद्धिएपछि नेपाल फर्केरै केही गर्ने निर्णय गरे । नेपालमा केही गर्न नसके अमेरिका फर्किने विकल्प त छँदै थियो । बढ्दो पपुलारिटी देखेर उनले इन्टरनेट व्यवसाय शुरु गर्न उपयुक्त ठानेछन् ।

पढाई सिध्याउनलाई बायोकेमिस्ट्रिीमा थेसिस गर्नुपर्ने थियो । संयोगवश थेसिस सम्बन्धी अनुसन्धान नेपालमा भएको आफ्नै बाबुको रिसर्च ल्याबमा गर्ने अनुमति कलेजले दियो । साथमा ३,५०० डलरको अनुदान पनि दियो ।

नेपाल आएपनि दिलीपले कम्प्युटरको क्षेत्रमा धेरै सम्भाना देखे । कम्प्युटर खोलखाल पारेर त्यसभित्र सम्म छिर्ने उनको बानी बच्चा देखी थियो । नेपाल आएपनि जब कम्प्युटर विज्ञानको सम्भावना देखे, दिलीपको मन आफूलाई कलेजबाट छात्रवृत्तिस्वरुप प्राप्त भएको रकम लगानी गरी ‘वल्र्ड लिङ्क’ नामक कम्पनी स्थापना गरे । यो कम्पनी उनले फुपूको छोरा श्याम अग्रवाल र मामाका छोरा विजय जालानलाई पार्टनर बनाई आफ्नै घरको एउटा कोठामा स्थापना गरेका हुन् ।
त्यही वल्र्ड लिंकले अहिले नेपालमा सञ्चार क्षेत्रमा अद्वितीय उदाहरण पेश गरेको छ । अहिले काठमाडौंका अधिकांश सरकारी तथा निजी कार्यालयहरुमा वल्र्ड लिंकको खुबै पहुँच छ । यसको सेवा अहिले देशव्यापी बनिसकेको छ । अहिले आइटि र इन्टरनेटको क्षेत्रमा वल्र्ड लिंक अग्रभागमा छ । वल्र्ड लिंक कम्पनी भित्र अहिले वल्र्ड लिंक टेक्नोलोजी, वल्र्ड लिंक कम्युनिकेसन, वल्र्ड लिंक फाइनान्सिङ सर्भिस र आइटी वेब पोर्टल लगायत थुप्रै कम्पनीहरु सम्बद्ध भइसकेका छन् । ४० बर्ष उमेर नपुग्दै दिलीपले यत्रोविधि प्रगति गर्लान भनेर थोरैले मात्र सोचेका थिए होलान् । उनको यो सफलताको कथाले थुप्रै नेपाली युवाहरुलाई अवश्य पनि प्रोत्साहन गर्नेछ ।

हुन त आइटी भनेको युवा शक्तिबाट परिचालित हुने उद्योग हो । संसारमा अहिले आइटीको युवाहरुले नै द्रुत गतिले विकास गरिरहेका छन् र भन्छन्, आइटी क्षेत्रमा सक्रिय रुपले उद्योग सञ्चालन गर्नेहरु अमेरिकामा मात्र होइन, दक्षिण अमेरिका, युरोप चीन, र भारतमा पनि परम्परागत घरानिया उद्यमीहरुलाई पछाडि पार्दै अर्बपति बनेका छन् । यस्ता युवा उद्यमीले अहिले विश्वको उद्योग–व्यापारमा वर्चस्व कायम गरिरेका छन् । दिलीप अग्रवाल भन्छन्, ‘नेपालमा आइटीको सम्भावना अथाह छ । यदि नेपाली युवाहरुले यो क्षेत्रमा नयाँ कामको थालनी गर्ने हो भने हामी विश्वमा आफ्नै किसिमले प्रतिष्पर्धा गर्न सक्छौं ।’ हो पनि, आज ब्याङ्गलोर र अन्य कम्प्युटरका ‘सिलिकन भ्याली’ले विश्वका ठूल्ठूला कम्पनीको व्यवस्थापन देखि लिएर एकाउन्टेन्सी र स्ट्राटेजिक प्लानिङ समेत बनाइदिन्छन् ।

कम्प्युटरका धेरै सफ्टवेयरहरु अहिले नेपालमा पनि तयार भइसकेका छन् र नेपाली आइटी क्षेत्रका इन्जिनियरहरुले यस्ता सफ्टवेयरहरु कम खर्चमा तयारी गरी युरोप र अमेरिकामा समेत बेचिरहेका छन् । दिलीप भन्छन्, ‘नेपालका युवाहरु धेरै स्मार्ट छन् । उनीहरुले यो क्षेत्रमा धेरै विकास गर्न सक्छन् ।’ यदि नेपाल सरकारले नेपाली युवाहरुको यस्तै शक्तिलाई चिनेर, जानेर र बुझेर सोही बमोजिम आइटीको क्षेत्रमा जनशक्ति परिचालन गरी बाहिर पठाउनुभन्दा एकदुई सय दक्ष आइटी एक्सपर्टहरुलाई मात्र ठूलठूला कम्पनीमा काममा पठाउन सकियो भने पनि हाल भित्रिइरहेको रेमिट्यान्य सयौं गुणाले बढ्नेछ ।

दिलीप फेरि भन्छन्, ‘आइटी एक्सपर्टको सङ्ख्या बढ्यो भने नेपाल भित्र पनि धेरै विकास गर्न सकिन्छ र त्यो जनशक्तिलाई बाहिर पठाउँदा देशको मानसम्मान बढ्नुको साथै आर्थिक आम्दानी समेत गर्न सकिन्छ ।’ ज्ञान र बुद्धिलाई ताल्चा मारेर कोठाभित्र कैद गरिराख्न सकिँदैन । यसलाई हुर्काउन बढाउन नेपाल भित्र विकासको वातावरण सृजना गरिनुपर्छ । कुनै पनि नेपाली आधुनिकतम ज्ञानविज्ञानमा चुस्त भयो भने अन्ततः यही देशलाई ठूलो सहयोग पुग्न जान्छ । आइटी विज्ञान २१ औं शताब्दीको वरदान हो । यसलाई हामीले जसरी भएपनि ग्रहण गर्न सक्नुपर्छ । त्यसका लागि नेपाल सरकारले अत्यन्त ठूलो सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ ।

वल्र्ड लिंकमा समस्या नआएको होइन, १४ बर्षभित्रमा धेरै उतारचढाव भयो । पैसा नभएको मान्छेले व्यापार गर्नु आफैंमा समस्या हो । तर अहिले त्यो कुरा साबुनको फिँज जस्तो भएको छ । मिहिनेत र निरन्तर प्रयाशले कम्पनीलाई माथि लैजाँदो रहेछ ।

२,००० डलरमा खोलेको कम्पनीले आज दिलीपलाई करोडौंको मालिक बनाएको छ । हुनत सूचना–प्रविधिको क्षेत्रमा धेरैले हाल हालेका छन्, तर दिलीपको Enterpreneur Modesty  र व्यवस्थापकीय क्षमताले आज उनी यो ‘हामी ठूला हौं’ भन्ने अहम् र अभिमान देखाउनु हुँदैन । आज वल्र्ड लिंकले अधिराज्यका विभिन्न जिल्लामा शाखा कार्यालय खोलिसकेको छ र लगभग ३०० कर्मचारीले काम गरिरहेका छन् । पढेर डाक्टर हुने बाबुको सपना साकार पार्न नसकेपनि उनी सफल भएका छन् आइटी क्षेत्रमा । दिलीपका बाबु भन्छन्, ‘डाक्टर नभएर के भयो र ? धेरै इन्जिनियरलाई त काम दिएकै छन् ।’

एजेन्सी

 

Comments

Back to top