कल्पना योङ्हाङ लिम्बूः सफल ढाका व्यवसायी
भनिन्छ, हरेक सफल व्यक्तिको जीवनमा असफलताको लामो कथा लुकेको हुन्छ । यसरी असफलताका कैयौं खुड्किलोहरु संघर्षबाट पार गर्न साहस बोकेर मेहेनत गर्ने व्यक्तिनै अन्तत समाजमा सफल व्यक्तित्व पनि बनेका छन् ।
तिनै सफल व्यक्तिको रुपमा स्थापित हुन जीवनका उकाली ओरालीहरुमा अनेकौं संघर्ष गर्दै ‘द हाइल्याण्ड आर्ट’ तथा ‘कल्पना ढाका बुटिक’ सञ्चालनमा ल्याएकी कल्पना योङ्हाङ लिम्बूले सफल ढाका व्यवसायीको परिचय बनाएकी छन् । नेपाली ढाका कपडा एवं पहिरनलाई विश्व बजारमा प्रवद्र्धन गर्दै आउनु भएकी योङ्हाङ मेहेनत र लगनसिलताले सफलता हासिल गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणीय व्यक्तित्व हुन् । सायद त्यसैले होला ढाका पहिरन भन्ने वित्तिकै कल्पनाको नाम आउँछ ।
वाल्यकाल केहीँ सुखमयमा वितेपनि सानै उमेरमा विबाह गरेपछि दुःखै दुःखको भुँमरीमा परेको बताउने उनको संघर्षको यात्रा भने, श्रीमानसँगको विछोडपछि सुरु भएको थियो । जीवनमा कहिल्यै हरेश नखाने, उनले भैंसी पालेर दुध बेच्ने व्यवसाय समेत अंगालेकी थिईन । तर, त्यसबाट पनि समस्यालाई टार्न नसकेपछि विराटनगरमा आस्था गल्ला स्टोर सञ्चालन गरेर आफ्नो जोहो टार्न थालिन् । पाकिस्तानबाट छाला ल्याएर व्यापार शुरु गरिन् । फर्निचर व्यापार, चाईनाको व्यापार त्यसपछि पेइङ गेष्ट सञ्चालन गर्न थालिन् तर, पनि उनको संघर्षका दिनहरु उस्तै उस्तै नै रह्यो ।
महिला सहकारी संस्था त्रिपुरेश्वरबाट १५ हजार ऋण लिएर आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाइन् । त्यसैबाट उनले हाते तान किनेर ढाका बुन्न सुरु गरिन् । यसपछि भने, उनको जीवनले गति लियो, सुनौलो दिनहरु फर्किन थाले । किराती पहिरन तागा मेख्लीको प्रवर्द्धन गर्न थालिन् । फलस्वरुप उनले २०६४ सालमा ’द हाईल्याण्ड आर्ट’ सञ्चालनमा ल्याइन् । अहिले उन्को काठमाडौंको गोकर्णमा द हाइल्याण्ड आर्ट रहेको छ भने बौद्धमा ‘कल्पना ढाका बुटिक’ रहेको छ । उनको उद्योगमा ढाका बुनेर २५ देखि ५० हजारसम्म मासिक तलब खाने थुप्रै नेपाली चेलीहरू रोजगारीमा छन् । उनको ढाका उद्योगमा हाल २ सय जनाले रोजगारी पाएका छन् ।
पान्थर याङवरक थर्पुमा जन्मनु भएकी उनी ढाकाको अनुसन्धान र प्रवर्द्धनको लागि अमेरिका युरोप लगायत विश्वको ३३ राष्ट्र पुगिसकेकी छन् । विश्वका हरेक देशमा उनको कम्पनीको ढाका पुगेको छ । नेपाली ढाकालाई अन्तर्राष्ट्रिय वजारमा प्रवर्द्धन गर्ने उद्देश्यले करिब डेढ वर्षअघि मात्र अमेरिकाको एरिजोनमा उनले ‘कल्पना ढाका बुटिक’ को शाखा विस्तार गरेकी थिइन् ।
राष्ट्रपतिको ढाका पहिरन समेत डिजाईन गरेकी उनको ढाकाको डिजाईन खोज्न नेपालका प्रसिद्ध कलाकारदेखि उच्च तहका व्यक्तिसम्म आउने गर्छन् । हाल उनी प्रत्येक प्रदेशमा पुगेर त्यहाँका स्थानीयलाई ढाका बुन्ने तालिम दिने अभियानमा जुटेकी छन् । नेपालको सफल महिला उद्यमीको रुपमा चिनिएकी योङहाङको जीवन सघंर्ष र सफलताको कथा कुनै पनि महिलाका लागि प्रेरणा बन्न सक्छ ।
एजेन्सी
Comments