बुद्धजयन्तीका अवसरमा ‘लुम्बिनी दिवस’ समेत मनाइँदै

बुुद्धजयन्ती एवम् लुम्बिनी दिवसमा बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । लुम्बिनी दिवस भव्यताका साथ मनाउन लुम्बिनी विकास कोषले तीन वटै जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

यसका लागि प्रधानमन्त्री पुुष्पकमल दाहालसहित उच्च पदस्थ व्यक्तिहरु हिजै लुम्बिनी पुगेका छन् । प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ बिशेष समारोह रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष उपाध्यक्ष डा. ल्हारक्याल लामाले जनाएका छन् ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय सदस्यहरूसहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोग, विदेशी पाहुनाहरू लुम्बिनी पुगिसकेका छन् ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम राखिएको बताए । भारतीय दूतावाससँगको साझेदारीमा हिजो साँझ साँस्कृतिक कार्यक्रम, मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ गरिएको थियो ।

बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा सुरु भएको छ । त्यसैगरी आजै नेपाल, भारत र श्रीलंकासम्म पुग्नेगरी त्रिदेशीय मोटरसाइकल यात्रासमेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए ।

कोषले भगवान बुुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न अपिल गरेको छ ।

एजेन्सी

Comments

Back to top