भारतकाे कश्मीरमा बन्धक बनाई काममा लगाइएका ३६ जना नेपालीकाे उद्धार

नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाई काममा लगाइएका ३६ जनाको उद्धार भएको छ ।

दलालहरूले राम्रो आम्दानीको प्रलोभन देखाएर सर्लाही, महोत्तरी र धनुषाका गाउँबाट उनीहरूलाई कश्मीर पुर्‍याएका थिए । कश्मीर लगेपछि नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिकसमेत नदिई कुटपिट, डर/धम्की देखाएर काममा लगाउँदै आएको थियो ।

झन्डै तीन महिना बन्धक बनाएपछि दिल्लीमा रहेको नेपाली दूतावास, जम्मु–कश्मीर पुलिस, क्राइम ब्रान्चको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो । उद्धारका लागि सामाजिक संस्था किन इन्डियाले पहल गरेको हो ।

उद्धारका लागि कश्मीर पुगेका किन इन्डियाका प्रमुख नवीन जोशीले बिहारबाट नेपाली गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर ल्याएको देखिएको बताए । उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताए ।

ठेकेदारको बन्धकबाट भागेका एक जनाले आफन्तलाई खबर गरेपछि बाँकी मजदुर मुक्त गर्ने पहल शुरु भएको हो । उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली मजदुरलाई बन्धक बनाउने दुई जना पक्राउ परेका छन् ।

एजेन्सी

Comments

Back to top