२९औं पटक सगरमाथाको सफल आरोहण : कामीरिताको किर्तिमान

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले आफ्नै २८ औं किर्तिमान ब्रेक गर्दै आइतबार २९ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनी कार्यरत काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, आइतबार बिहान ७:२५ मा उनी सगरमाथाको चुचुरोमा पुगेका थिए ।

पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईहरुको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न गएका थिए । यसपाली सेभेन समिट र फोर्टीन पिक्स एक्सपिडसन गरी दुइटा कम्पनीका सदस्यहरुलाई सगरमाथा आरोहण गराउने कामीरिताको जिम्मेवारी रहेको छ ।

५४ वर्षीय कामीरिताले यसपटक मौसम अनुकूल भए दुईपटक सगरमाथा आरोहण गर्नसक्ने मनसाय बनाएका छन् ।

सोलुखुम्बुको थामेका शेर्पाले गत वर्षको वसन्तकालीन याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको रेकर्ड बनाएका थिए । कामीरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीया पासाङ दावा (पादावा) शेर्पा छन् ।

गत वर्षको वसन्तकालीन याममा उनले गरेको सगरमाथा आरोहण २७ औं पटक थियो । उनले गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामीरिताकै हाराहारीमा सगरमाथा आरोहणको र्कितिमानी बनाएपछि कामीरिताले पनि एक साता नबित्दै गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर २८ औं पटकको रेकर्ड बनाएका थिए ।

एजेन्सी

Comments

Back to top