माओत्से तुङ कसरी बने चिनियाँ क्रान्तिका नायक?

माओत्से तुङ विश्व कम्युनिष्ट आन्दोलनका महान् नेता हुन्। उनको नेतृत्वमा नै चीनमा नयाँ जनवादको स्थापना भएको थियो। माओत्से तुङ बिना विश्व कम्युनिष्ट आन्दोलन नै अपुरो हुन्छ। 

माओत्से तुङको जन्म सन् १८९३ मा चिनियाँ वर्षको एघारौं महिनाको १९ सौं दिनमा भएको थियो। माओत्से तुङको बुबाको नाम जेन सेंग (कुनसेन) थियो भने आमा स्याङस्याङ जिल्लाको तुंग चियातो गाउँमा बेन परिवारकी कन्या थिइन्। माओत्से तुङ एक गरिब परिवारमा जन्मिएका बालक थिए। माओत्से तुङ सात वर्षको पनि हुन नपाउँदै उनले खेतमा काम गर्न जानु पर्दथ्यो। बालक कालदेखि नै माओत्से तुङलाई किसानमा पिर मर्काले सताइरहन्थ्यो र यसबारे छुटकारा पाउने सम्बन्धमा सोचविचार गर्दथे।

माओत्से तुङले आठ वर्षको उमेरमा गाउँकै शिक्षकसँग आफ्नो औपचारिक शिक्षा थालनी गरेका थिए। उनले १३ वर्षसम्म उनै शिक्षकसँग पढेका थिए। माओत्से तुङ अत्यन्तै बुद्धिमानी विद्यार्थी थिए। उनको बौद्धिकता देखेर अभिभावकको साथै शिक्षकहरू पनि मक्ख पर्दथे। माओत्से तुङ घोकन्ते विद्याको विरोधी थिए। तर पनि शिक्षकहरू विद्यार्थीलाई घोकाउन नै अभ्यस्त थिए। गुरुको शिक्षालाई मनन गर्दै माओत्से तुङले कुङफुब्जुका चारै वटा ग्रन्थ कण्ठ गरेका थिए। अक्षर चिन्ने भएपछि बजारमा पाइने रोचक र नयाँ कथा, कहानी भएको उपन्यासहरू तिर उनको मन पुग्यो र बजारमा पाइने उत्कृष्ट र क्रान्तिकारी पुस्तकहरूलाई उनले अध्ययन गर्न थाले। माओत्से तुङले आफूलाई मन पर्ने खालका पशुप्राणी र मानिसका विषयमा पढ्दथे।

तेह्र वर्षको उमेरमा प्राथमिक स्तरको पढाई सकिएपछि उनी अन्य पुस्तकको अध्ययनमा व्यस्त रहँदा अचानक उनमा एक क्रान्तिकारी विचारको प्रफुष्टन भयो र उनी सोच्न थाले ‘बजारमा पाइने पुस्तकहरूमा केवल राजा, मन्त्री, सेनापति, योद्धाको मात्र बढाई किन हुन्छ ? हामी जस्ता किसानको कुरा किन आउँदैनन्।’ आखिरमा उनी आफै ‘पुराना कथाका नायक धेरै जसो शासक, शोषक, उत्पीडक हुनुको कारण उनीहरू धेरै जमिनका मालिक भएर हो, उनीहरू आफ्ना खेतबारीका श्रमिकलाई काम लगाउँदछन्। तिनले सूर्योदयदेखि सूर्यास्तसम्म मात्र नभएर रातभरि पनि कस्सिएर काम गर्दछन्। दुःख, कष्ट खेपेका हुन्छन्, तर उनीहरू नै किन यस्ता कथाका नायक हुँदैनन्’ भन्ने निष्कर्षमा पुगे। त्यसै समयमा भएको ताइपेंग क्रान्तिको प्रभाव उनीमा पनि पर्न पुग्यो।

बालक माओत्से तुङ बिस्तारै बिस्तारै गाउँ, शहर, जिल्ला, देश हुँदै विश्व प्रसिद्ध क्रान्तिकारी नेता बन्न पुगे। ताइपेंग क्रान्तिको बेला चिनियाँ जनता पनि जागेका थिए। त्यस क्रान्तिमा किशोर माओत्से तुङ पनि सामेल भएका थिए। त्यसपछि माओत्से तुङले जमिनदारहरूको खुलेरै विरोध गर्न थाले। गरिब जनताको पक्षमा आन्दोलन गर्न थाले। १६ वर्षको उमेरसम्म माओत्से तुङ गाउँमै बसेका थिए तर उनको क्रान्तिकारीपन शहरमा पनि पुगेको थियो। त्यसको साथै उनी पुस्तकीय ज्ञानले पनि देश दुनियाँ जान्ने हुन थालेका थिए।

जीवनको महत्पूर्ण काल उनी प्रतिक्रियावादी चांग काइशेकको सरकारविरुद्ध सशस्त्र संघर्षमा लागे। सन् १९३१ को ११ डिसेम्बरमा सोभियत काँग्रेसको अधिवेशन सुरु भयो र माओत्से तुङको अध्यक्षतामा सोभियत सरकारको स्थापना भयो। उनले त्यस समयमा जापानसँग पनि युद्ध गरेर विजय प्राप्त गरे। च्यांकाइसेकविरुद्धको छापामार संघर्ष सफलता पछि सन् १९४९ मा माओत्से तुङले चीनलाई जनवरी गणतन्त्र राज्यको घोषणा गरेका थिए।

नयाँ जनवादका प्रणेता, चीनको धर्तीमा जन्मिएका महान् विश्व प्रसिद्ध कम्युनिष्ट नेता माओत्से तुङ हाम्रो सामु छैनन्। उनको १९७६ मा मृत्यु भयो। तथापि उनको नीति तथा विचारहरू माओवाद र माओ विचार धाराको नामले संसार भरी व्याप्त छ। 

एजेन्सी

Comments

Back to top