अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ ।

इजरायलका सञ्चारमन्त्रीले सोशल मिडियामा पोष्ट गरेको भिडियोमा पुलिस अधिकारीहरू अल-जजीरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ ।

आइतवार, इजरायली सरकारको मन्त्रिपरिषद्ले अल-जजीरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

अल-जजीरा टिभी नेटवर्कले इजरायली सरकारको ‘राष्ट्रिय सुरक्षा’ खतराको दाबीलाई ‘झूटो’ भनेको छ । अल-जजिरा टिभी नेटवर्कको टोलीले पनि कानुनी जवाफको तयारी गरिरहेको छ । इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् ।

इजरायलको नागरिक अधिकारको संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ।

विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारको प्रतिबन्धलाई प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन इजरायली सरकारलाई अपील गरेको छ ।

एजेन्सी

Comments

Back to top