इलाममा बिहान ११ बजेपछि र बझाङमा दिउँसोपछि मतगणना शुरु हुने

इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि अहिले बिहान सर्वदलीय बैठक बस्दैछ । मतपेटिका गएराति अबेर मात्र सङ्कलन गरेर सदमुकामको मतगणनास्थल ल्याइएको छ । आज बिहान सर्वदलीय बैठक बसेर निर्णयअनुसार मतगणना शुरु गर्ने तयारी छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै राजनीतिक दल र उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको जानकारी दिए । सबै प्रक्रिया पूरा गरेर बिहान ११ बजेपछि गणना शुरु गर्ने तयारी छ ।

इलामको गौतम बुद्ध सभा हलका दुई ठाउँमा मतगणना हुनेछ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तारबार गरी सिसीटिभी जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतपेटिका उच्च सुरक्षा साथ राखिएको छ । इलाम–२ मा राजनीतिक दलका  र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

 

त्यस्तै प्रदेशसभा सदस्यका लागि बझाङ–१ (क) मा भएको उपचुनावमा झन्डै ५० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीकाअनुसार साइपाल गाउँपालिकाबाहेकका अन्य ९० वटा केन्द्रका मतपेटिका सदरमुकाममा सङ्कलन गरिएको छ ।

साइपालको काँडा, धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका आज बिहान हेलिकोप्टरमार्फत् ढुवानी गरिँदैछ । सबै मतपेटिका सदरमुकाम पुगिसकेपछि सर्वदलिय बैठक बसेर दिउँसोदेखि गणना शुरु गर्ने तयारी छ ।

बझाङ–१ (क) मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि हिजो उपचुनाव भएको हो । त्यहाँ कांग्रेसबाट सिंहका छोरा अभिषेक उम्मेदवार हुनुहुन्छ भने एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् ।

एजेन्सी

Comments

Back to top