इन्टरनेट इतिहासका १४ अनौठा तथ्य, जुन तपाईँलाई थाहा नहुन सक्छ

इन्टरनेट अब मानिसहरूका लागि सामान्य बनिसकेको छ । कुनै समय कस्तो होला इन्टरनेट भन्ने सोच अब इन्टरनेट बिना केही पनि छैन भन्ने अवस्थामा पुगिसकेको छ ।

यद्यपि हामीले दिनहुँ प्रयोग गर्ने इन्टरनेटको इतिहासबारे केही आश्चर्यजनक तथ्यहरू छन्, जुन धेरैलाई थाहा छैन । यहाँ, इन्टरनेट इतिहासको बारेमा १४ तथ्य उल्लेख गरिएको छ, जुन निकै आश्चर्यचकित पार्ने खालका छन् ।

१. निःशुल्क डोमेन रजिस्ट्रेसन 

आजको दिनमा डोमेन दर्ता गराउन औसतमा एक हजारदेखि तीन हजार रुपैयाँसम्म पर्छ । विभिन्न कारणहरूले यसको मूल्य फरक-फरक पर्न सक्छ । केही महत्त्वपूर्ण डोमेनहरू त लाखौं डलरमा लिलामी पनि हुन्छन् । तर निःशुल्क रुपमा भने डोमेन प्रयोग गर्न सकिँदैन ।

विगत फर्केर हेर्न हो भने डोमेन रजिस्ट्रेसन निःशुल्क भएका दिन पनि थिए । यद्यपि सन् १९९५ मा आएर डोमेन रजिस्ट्रेसन सशुल्क गराइयो । पहिलो रजिस्ट्रेसन १०० डलरदेखि सुरु भएको थियो ।

२. पहिलो स्पाम ईमेल 

इन्टरनेटको विस्तार हुँदै गर्दा स्पाम ईमेल सामान्य हुँदै गएको छ । स्पाम ईमेलबाट सतर्क रहनका लागि दैनिक विभिन्न सचेतनाका सूचना पनि देखिने गर्छ । धेरैजना यसबाट सचेत छन् भने केहीलाई यसबारे केही जानकारी नै छैन । तर स्पाम ईमेल कुनै नयाँ कुरा भने होइन ।

पहिलो स्पाम ईमेल आजभन्दा ४४ वर्ष अगाडि पठाइएको थियो । सन् १९७८ मा ‘ग्यारी थर्क’ नामको एक व्यक्तिले अर्पानेट (ARPANET) का प्रयोगकर्तालाई कम्प्युटर बिक्री गर्ने भन्दै स्पाम मेल पठाएका थिए । हुन त त्यो समयमा उक्त मेललाई स्पाम मेलको नाम दिइएको थिएन ।

यो शब्द सन् १९९३ मा मात्र आएको थियो । सन् १९९३ मा युजनेटका प्रयोगकर्ताले जिस्कँदै यस्ता मेललाई स्पामिङ नाम दिएका थिए । यसपछि भने यो शब्द प्रचलनमा आयो ।

३. अमेजनको पुरानो नाम

अमेजन पहिले एउटा बुकस्टोरको रुपमा खुलेको कम्पनी हो । यो सबैलाई थाहा भएकै कुरा हो । तर केही कम व्यक्तिलाई मात्र त्यो बेला अमेजनको नाम अरू नै थियो भनेर थाहा होला ।

आज अमेजनको रुपमा चर्चित कम्पनीको पुरानो नाम ‘काडाब्रा’ थियो । यो नाम जादुमा प्रयोग हुने ‘आब्राकाडाब्रा’ शब्दबाट प्रेरित भएर राखिएको थियाे ।

अगाडिको आब्रालाई छोडेर काडाब्रा भनेर राखिएको नाम थियो । पछि जेफ बेजोसले आफ्नो वकिलको सल्लाहमा कम्पनीको नाम परिवर्तन गरेर अमेजन राखे ।

४. फेसबुकको रङ्ग निलो हुनुको कारण 

कुनै पनि व्यक्तिले आफ्नो कम्पनीको ब्राण्ड रङ्ग छनोट गर्ने बेलामा धेरै कुरालाई ध्यानमा राखेर मात्र रङ्ग छनोट गर्ने गर्छन् । तर फेसुबकको रङ्ग छनोट गर्ने बेलामा भने मार्क जुकरबर्गले आफ्नो आँखाको समस्याका कारण निलो रङ्ग छानेका थिए ।

उनलाई ‘कलर ब्लाइन्ड’ को समस्या छ  । उनी रातो र हरियो रंङ्ग राम्रोसँग छुटाउन सक्दैनन् । त्यसैले उनले फेसबुकको रङ्ग निलो बनाएका हुन् ।

५. माइस्पेसको २०१६ भन्दा अगाडिको डेटा हरायो 

‘माइस्पेस’ कुनै समयको निकै चर्चित सामाजिक सञ्जाल थियो । लाखौं मानिसहरूको लागि माइस्पेस लोकप्रिय प्लेटफर्म थियो ।

तर सन् २०१६ मा सर्भर परिवर्तन गर्ने बेलामा २०१६ भन्दा अगाडिका सबै डेटा हराए । यसरी हराउनेमा माइस्पेसका प्रयोगकर्ताहरूको तस्वीर, भिडिओ, गीत लगायतका अन्य सबै डेटा डिलिट भयो ।

६. ईमेल एड्रेसमा किन हुन्छ ‘@’ सिम्बोल ?

ईमेल एड्रेसमा नभई नहुने कुरामा पर्छ ‘@’ सिम्बोल । यद्यपि यसको सुरुवातको कथा भने फरक छ ।

सुरुवाती समयहरूमा ‘@’ सिम्बोल निकै कम प्रयोग हुने सिम्बोलमा पर्थ्यो । त्यसैले यसको प्रयोग बढाउनको लागि हरेक ईमेलमा ‘@’ अनिवार्य गरिएको थियो । सन् १९७१ मा रे टमलिन्सन ईमेल आईडीमा प्रयोगकर्ताको युजरनेम र होस्टको नाम छुट्टाउनको लागि  कुनै संकेत खोजिरहेका थिए ।

अन्य सिम्बोलहरूको तुलनामा यसको प्रयोग कम भएकोले यसको प्रयोग पनि बढ्ने हुँदा उनले यो सिम्बोल छनोट गरेका थिए ।

७. पहिलो ब्राउजर

संसारको पहिलो ब्राउजर वर्ल्ड वाइड वेब (WWW) थियो । बर्नर्स लीले वर्ल्ड वाइड वेब नामबाट ब्राउजरको पनि विकास गरेका थिए, जसलाई अहिले ‘नेक्सस’ भनेर चिनिन्छ ।

यसले एडिटर र ब्राउजर दुवैको काम गर्थ्यो । यद्यपि यो ब्राउजरको प्रयोग भने त्यति धेरै हुन सकेन ।

त्यसैले धेरैजसो मानिसहरू यो लगत्तै विकास भएका मोजाइक र नेटस्केप नामका ब्राउजरहरूकाे प्रयोग बढी गर्थे ।

८. क्याप्चा (CAPTCHA) को अर्थ 

क्याप्चा भन्ने वित्तिकै धेरैलाई मन नपर्ने शब्द हुनसक्छ। धेरैजनालाई क्याप्चाको बारेमा थाहा हुनसक्छ, तर यसको अर्थको बारेमा धेरै कमलाई मात्र जानकारी छ।

वास्तवमा क्याप्चा अथवा CAPTCHA को पूरा रुप ‘कम्प्लिट्ली अटोमेटेड पब्लिक ट्योरिङ टेस्ट टु टेल कम्प्युटर एण्ड ह्युमन अपार्ट’ हो । यसको पूरा रुपमा नै यसको अर्थ जोडिएको छ ।

मानिस र कम्प्युटर दुई फरक कुरा हुन् भनेर थाहा पाउनको लागि प्रयोग हुने स्वचालित सार्वजनिक परीक्षण नै क्याप्चा हो ।

९. गुगोल बिग्रिएर गुगल 

गुगलकाे नाम पहिले ‘Google’ को थिएन । Googol बाट बिग्रिएर यसको नाम Google रहन गएको हो ।

गुगोलको वास्तविक अर्थ १०० ओटा शून्य भएको सबैभन्दा ठूलो अंक हो । गुगलका संस्थापक सेन एन्डर्सनले अनन्त जानकारी उपलब्ध हुने प्लेटफर्मलाई इंकित गर्दै गुगोल नाम राख्न लागेका थिए ।

तर डोमेन रजिस्टर गर्ने बेलामा उनले स्पेलिङ गल्ती गरेर गुगल टाइप गरे । यसैले यसको नाम गुगल नै रहन गयो ।

१०. वाई-फाई कुनै शब्दको छोटो रुप होइन 

धेरैजनाले वाई-फाइ ‘वायरलेस फाइडलिटी’ को छोटो रुप हो भनेर बुझ्ने गर्छन् । वास्तवमा यो कुनै शब्दको छोटो रुप भने होइन । वाई-फाई प्रविधिको पुरानो नाम आईईईई ८०२ (IEEE 802) थियो ।

यो नाम अप्ठ्याराे भएपछि यसलाई सहज बनाउन यो प्रविधिको नाम वाई-फाई दिइएको हो । वाई-फाई हाइफाइ भन्ने शब्दसँग मिल्ने र यसलाई सम्झन पनि सहज हुने विश्वासले वाई-फाई नाम रहन गएको हो ।

११. इन्टरनेटमा सबैभन्दा पहिले बिक्री भएको वस्तु 

विश्वमा आजको ई-कमर्स बजारको आकार खर्बौं रुपैयाँको छ । तर हरेक कुराको सुरुवात सानो बाट नै सुरु हुने गर्छ । ई-कमर्श पनि सुरुमा सानो प्लेटफर्म थियो ।

जेम बार्टलेटले आफ्नो किताब ‘द डार्क नेट: इन्साइड द डिजिटल अन्डवर्ल्ड’ नामको किताबमा संसारमा इन्टरनेटमा सबैभन्दा पहिले बिक्री भएको वस्तु गाँजा थियो भनेर उल्लेख गरेका छन् ।

उनको किताबका अनुसार गाँजाको डिल अनलाइन भएपनि बिक्री भने भौतिक रुपमा नै भएको थियो । पहिलो अनलाइन कारोबार भने सन् १९९४ मा ड्यान कोनले साङ्गीतिक एल्बमको सीडी बिक्री गर्दा भएको थियो ।

१२. गुगल र याहुले बाख्रा भाडामा लिएका थिए 

हामीले ठूला कम्पनी भनेर चिनेको गुगल र याहुले करिब डेढ दशक अगाडि आफ्नो कार्यालय वरपरको जग्गामा उम्रेको घाँस सफा गर्न बाख्रा भाडामा लिएका थिए । कार्बन उत्सर्जन कम गर्न सहयोग हुनेभन्दै कम्पनीहरूले घाँस सफा गर्न बाख्रा चरनका लागि छोडेका थिए ।

सन् २००९ मा गुगलले २०० बाख्रा भाडामा लिएको थियो । यसअघि याहुले सन् २००७ मा नै बाख्रा भाडामा लिएर घाँस सफा गरेको थियो ।

१३. ईमेल पठाउने राजपरिवारको पहिलो सदस्य: रानी एलिजावेथ द्वितीया 

सन् १९९७ मा राजकीय सिग्नल र रडारको स्थापनापछि अर्पानेट प्रयोग गर्ने ईमेल पठाउने बेलायतको राजपरिवारको पहिलो सदस्य रानी एलिजावेथ द्वितीया थिइन् । ईमेल प्रयोग गर्ने पहिलो सदस्य भएपनि उनी ट्वीटरमा भने सन् २०१४ मा र इन्स्टाग्राममा सन् २०१९ मा मात्र जोडिएकी थिइन् ।

१४. यूआरएलमा दुईओटा स्ल्यास (//) सिम्बोल प्रयोग गरेर बर्नर्स ली पछुताएका थिए 

यूआरएल विकास गर्दा बर्नर्स लिले धेरै प्रशंसा पाएका थिए । तर उनलाई भने आफूले एचटीटीपीको पछाडि दुई ओटा स्ल्यास सिम्बोल प्रयोग गरेकोमा पछुतो थियो।

यी स्ल्यासहरू प्रयोग नगर्दा पनि हुन्थ्यो भन्ने कुरा उनलाई धेरै पछि महसुस भएको थियो । यसले उनको समय र कागज खेर फालेको उनले महसुस गरेका थिए ।  

एजेन्सी

Comments

Back to top