इन्डोनेसियाको समुद्री तटमा झण्डै दुई सय जना रोहिङ्ग्या शरणार्थी अलपत्र

इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक समुद्री तटमा झण्डै दुई सय जना रोहिङ्ग्या शरणार्थी अलपत्र परेका छन् । म्यानमारका अल्पसङ्ख्यक रोहिङ्ग्या समुदाय ठूलो सङ्ख्यामा बङ्लादेशमा रहेका र तीमध्ये उनीहरु इन्डोनेसियाको समुद्री तटमा अलपत्र परेका हुन् ।

सन् २०१७ मा म्यानमारको सेनाले गरेको कारबाहीको मुख्य निशानामा मुस्लिम रोहिङ्ग्या समुदाय परेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । झण्डै १० लाख मानिस भागेर बङ्लादेश पुगेका छन् र त्यहाँबाट हरेक वर्ष हजारौंले आफ्नो ज्यान जोखिममा राखेर मलेसिया वा इन्डोनेसिया पुग्न लामो र महँगो समुद्री यात्रा गर्छन् ।

शरणार्थीहरू समुद्र तटमा भेला भएका र केही महिला आफ्ना बच्चालाई काखमा बोकेको अवस्थामा देखिएका भिडियो स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले स्थानीय समुदायको हितलाई प्राथमिकतामा राखेर शरणार्थीका लागि पनि अस्थायी राहत उपलब्ध गराइने बताएका छन् । उनले आफ्नो देश भित्रने रोहिङ्ग्या शरणार्थीको बढ्दो सङ्ख्याका पछाडि मानव बेचबिखनमा संलग्न सञ्जालको हात रहेको र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

Comments

Back to top