अमेरिकी निर्यात नियन्त्रणमा चीनको विरोध
अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनले विरोध गरेको छ । चीनका विरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले उल्लेख गरेका छन् ।
सेमिकन्डक्टर र अत्याधुनिक प्रविधिहरूमा चीनको पहुँचमा प्रतिबन्ध लगाउन आग्रह गर्ने अमेरिकी वाणिज्य मन्त्री जीना रेमन्डोको हालै सार्वजनिक टिप्पणी बारे सोधिएको पत्रकारहरूको प्रश्नको जवाफमा उनले सो टिप्पणी गरेका हुन् ।
चीन–अमेरिका सम्बन्धका प्रतिस्पर्धात्मक पक्षहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न दुवै राष्ट्रप्रमुख सहमत भएको सन्दर्भ उल्लेख गर्दै उनले सान फ्रान्सिस्को शिखर सम्मेलनमा भएको सहमतिलाई कार्यान्वयन गर्न सम्बन्धित अमेरिकी पक्षले चीनसँग मिलेर काम गर्ने आशा पनि व्यक्त गरे ।
अमेरिकी पक्षको नियन्त्रणका प्रतिबन्धात्मक उपायहरू राष्ट्रिय सुरक्षाको अवधारणाको सामान्यीकरण हो भनेर चीनले बारम्बार औंल्याएको छ । यस्ता प्रतिबन्धात्मक उपायहरूले बजारका सामान्य नियम एवम् अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई कमजोर पार्ने र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरतालाई समेत थप खतरामा पार्ने मन्त्रालयका प्रवक्ताको दाबी छ ।
Comments