इजरायलका प्रधानमन्त्री नेतन्याहू विरुद्दको भ्रष्टाचार मुद्दामा पुनः सुनुवाइ सुरु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा पुनः सुनुवाइ सुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद सोमबारदेखि उनको मुद्दा फेरि सुनुवाइ सुरु भएको हो। इजरायलको दक्षिणपन्थी लिकुड पार्टीका नेता नेतन्याहूमाथि घूस, जालसाजी र विश्वासघातको आरोप छ । लिकुड पार्टीका मन्त्री डेभिड अम्सालेमले युद्धको समयमा प्रधानमन्त्रीमाथि लागेको मुद्दाको कारबाही प्रकृया सुरु गर्नु ‘अपमानजनक’ भएको टिप्पणी गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले अक्टोबर ७ तारिखमा दक्षिणी इजरायलमा आक्रमण गरेपछि निरन्तर लडाइँ चलिरहेको छ । नेतन्याहू र उनका सहयोगीले आरोपहरू राजनीतिकरुपमा प्रेरित भएको तर्क गर्दै न्यायिक सुधारको प्रस्ताव गरेका छन्।

यो सुनुवाइ अझै केही समय चल्ने अनुमान गरिएको छ। सन् २००७ देखि २०१६ को बीचमा नेतन्याहूले एक लाख ९५ हजार अमेरिकी डलर बराबरको उपहार प्राप्त गरेका थिए । उनले उपहारहरू मित्रबाट स्वीकार गरेको र आफूले नमागेको बताएका छन् ।

Comments

Back to top