थप सैनिककासाथ युक्रेनमाथि आक्रमण बढाउँदै रुस
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक लाख ७० हजार सैनिक बढाउन सेनालाई निर्देशन दिएका छन् । युक्रेनमाथि आक्रमण बढाइरहेका बेला राष्ट्रपति पुटिनको यस्तो निर्देशन आएको हो । पुटिनको आदेश तत्काल लागू भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।
रुसले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रूसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख हुन्छ । रुसमाथि बढ्दो खतराका कारण सेनाको सङ्ख्या बढाएको रूसी रक्षा मन्त्रालयले जनाएको छ।
रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म चार लाख ५२ हजारभन्दा धेरैलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिएका छन् । सन् २०१८ यता रूसले दोस्रो पटक सेना विस्तार गरेको हो । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए ।
Comments