अमेरिकाद्वारा हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग

उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्रसङ्घको कोप–२८ सम्मेलनमा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी छिन् ।

ह्यारिसले दुबईमा आयोजित जलवायु शिखर सम्मेलनमा भनिन्, ‘आज, हामी काममार्फत विश्वले यस सङ्कटको सामना कसरी गर्न सक्छ र गर्नुपर्छ भनेर प्रदर्शन गरिरहेका छौँ ।’

अमेरिकी कङ्ग्रेसले अनुमोदन गर्नुपर्ने नयाँ रकम सन् २०१० मा स्थापना भएको हरित जलवायु कोष (जीसीएफ) मा जानेछ ।

सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा विकासशील मुलुकका लागि त्यस कोषमा अमेरिकाले अन्तिम पटक तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

विश्वको सबैभन्दा ठूलो जलवायु कोषले पाकिस्तानमा सौर्य प्यानल वा हाइटीमा बाढी व्यवस्थापन गरेजस्तै विकासोन्मुख देशहरूमा अनुकूलन र न्यूनीकरण परियोजनाहरूको लागि अनुदान र ऋण प्रदान गर्दछ।

अमेरिकाले सहयोग घोषणा गर्नुअघि जीसीएफमा १३ अर्ब ५० करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएको थियो ।

 

Comments

Back to top