एनसेलको शेयर साढे ६ अर्बमा बेचेर बाहिरियो आजियाटा

मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको छ ।आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई विक्री गर्ने भएको हो । 

स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । यसको सञ्चालकमा सतिशलाल आचार्य छन् । यसै साता, बुधबार मात्रै आजिएटाले नेपालमा व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले नेपालबाट बाहिरिने निर्णय गरेको घोषणा गरेको थियो । 

आजिआटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यतिबेला एनसेलको सेयर बिक्रीका लागि टेलियासोनेरा युटिए होल्डिङ, एसइए टेलिकम इन्भेष्टमेन्ट, निरज गोविन्द श्रेष्ठ, आजियाटा र सुनिभेरा भेञ्चर क्यापिटलले सेयर खरिद बिक्री सम्झौता गरेका थिए। आजियाटाले एनसेलमा ८० प्रतिशत स्वामित्व होल्ड गर्ने रेनल्ड होल्डिङ्सको शतप्रतिशत स्वामित्व लिन १ अर्ब ३६ करोड ५१ लाख डलर अर्थात तत्कालीन विनिमय दरअनुसार एक खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी तिरेको थियो।

त्यसबेला आजियाटाले सेयर किनेको थियो। सेयर किनेको ७ बर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो।

Comments

Back to top