टोपबहादुर रायमाझीसहित नौ जना थुनामै

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत, पाटनले पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीसहित नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले गरेको आदेशलाई सदर गरेको छ ।

शुक्रबार न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी र सागर राईलाई थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको हो ।

जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिएसँगै शुक्रबार फैसलालाई लिएर व्यग्र प्रतिक्षा भएको थियो । 

तर पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई के गर्ने भन्ने बारेमा अझै टुङ्गो भएको छैन । न्यायाधीशको राय बाझिएपछि अब तेस्रो न्यायाधीशको राय लिने बताइएको छ । 

 

यो प्रकरणमा थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, बालकृष्ण खाँडका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, केशव तुलाधर, हज कमिटीका अध्यक्ष शमशेर मियाँलगायत धरौटीमा छुट्ने भएका छन् ।

Comments

Back to top