भारतको उत्तरकाशीमा सुरुङमा फसेका ४१ मजदुरलाई १७ दिनपछि बाहिर निकालिँदै
भारतको उत्तरकाशीमा एक निर्माणाधीन सुरुङमा १७ दिनदेखि फसिरहेका ४१ जना मजदुरको उद्धार हुँदैछ।
सुरुङ निर्माणका क्रममा भित्र जमिन भासिएपछि मजदुर थुनिएका थिए । लामो समयको प्रयासपछि आज बेलुका मजदुरसम्म पुग्ने पाइप हाल्न उद्धारकर्मी सफल भएका हुन् ।
अहिले मजदुरहरुलाई पालैपालो गरेर सुरुङबाट निकाल्ने प्रयास भैरहेको छ । बाहिर एम्बुलेन्स तैनाथ गरिएको छ । आफन्तको लामो समयसम्म पनि उद्धार हुन नसक्दा परिवारजन चिन्तामा परेका थिए ।
अर्को स्थानमा ड्रिल गरेर मजदुर फसेको स्थानसम्म बाटो बनाइएको हो । सुरुङबाट निकालेपछि हरेक मजदुरलाई छुट्टाछुट्टै एम्बुलेन्समा राखेर उपचारकेन्द्रमा लैजाने तयारी गरिएको छ ।
ड्रिल गर्ने काम सकिएपछि उद्धारकर्मी, उत्तराखण्डका मुख्यमन्त्री र चिकित्सक सुरुङमा पसेका थिए ।अस्पताल लैजानु अघि मजदुरले सुरुङबाहिर आफन्तसँग भेट गर्नेछन् ।
क्यामराको सहायताबाट मजदुरको निगरानी गरिएको थियो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । उद्दारको काम सम्पन्न हुन भोलि विहानसम्मको समय लाग्न सक्ने बताइएको छ ।
Comments