'काेप–२८' मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधवार यूएई जाने
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन 'कोप–२८' मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुधवार यूएईको दुबई जाने भएका छन् ।
सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड दुबई जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । कोप–२८ मङ्सिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरू छन् । प्रधानमन्त्री प्रचण्डले १६ गते शनिवार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । १६ गते नै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूको एजेन्डा उठाउन ‘हिमालको पुकार: जलवायु सङ्कटबाट हामीलाई कसले बचाउने छ ?’ भन्ने शीर्षकमा कार्यक्रम आयोजना गर्ने छन् ।
सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले अन्य भेटवार्ताहरू पनि गर्ने छन् ।
Comments