सशस्त्र समूहले गर्‍यो चीन–म्यान्मा सीमामाथि कब्जा

म्यान्माको एउटा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले मुलुकको सत्तारूढ जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण हासिल गरेको स्थानीय मिडिया र सुरक्षा स्रोतले आइतबार बताएका छन् । 

अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक समूहको सशस्त्र गठबन्धनले सेनाविरुद्ध आक्रामक हमला गर्नुअघि चीनको सीमानजिक म्यान्माको उत्तरी शान राज्यमा झडपहरू भएका थिए ।

गठबन्धनले दर्जनौँ सैन्य स्थानका साथै चीनसँग व्यापारका लागि महत्त्वपूर्ण एक सहरमाथि कब्जा गरेका छन् । यसबाट नगदको अभावमा परेको जुन्ताका लागि व्यापारिक मार्ग बन्द भएको छ । 

समूहसँग सम्बद्ध एक स्थानीय मिडिया आउटलेटका अनुसार म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए) ले आक्रामक हमला गरी किन सान क्यावत सीमा प्रवेशद्वारमाथि कब्जा गरेको छ । एमएनडिएए सशस्त्र गठबन्धनमध्येको एक समूह हो ।

“एमएनडिएएले आज बिहान किन सान क्यावत भनिने म्युज जिल्लाको मोङ्गको क्षेत्रमा एउटा अर्को सीमा प्रवेशद्वार कब्जा गरेको बताएको छ”, कोकाङ समाचारले आइतबार भनेको छ, “अराकान आर्मी (एए) र ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) सहितको गठबन्धनले शुक्रबार हमला शुरु गरेपछि सीमा व्यापार क्षेत्रमा अन्य सैन्य स्थानमा कब्जा गरेको थियो ।”

Comments

Back to top