सर्वोच्चद्धारा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश जारी

सर्वोच्च अदालतले काठमाडौँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल लगायतले दायर गरेको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । 

नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएका थिए । सो रिटमाथि शुक्रवार सुनुवाइ गर्दै इजलासले विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गर्दै निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश जरुरी गर्नु नपर्ने भए कारणसहित लिखित जवाफ पेश गर्न भनेको छ ।

विपक्षीहरूको लिखित जवाफ पेश भएपछि संयुक्त इजलासमा यी रिटहरुमाथि सुनुवाइ भई अन्तरिम आदेश जारी हुने वा नहुने निर्क्योल हुनेछ । अन्तरिम आदेश जारी भएमा माइतीघर मण्डला लगायतका क्षेत्रमा विरोध वा आन्दोलनका कार्यक्रम पूर्ववत् अवस्थामै गर्न पाइनेछ ।

Comments

Back to top