नेपालको कम्युनिष्ट आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको नाम र तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न माग

नेपालको कम्युनिष्ट आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको नाम र तस्बिर अंकित हुलाक टिकट प्रकाशनका लागि सरकारसँग माग गरिएको छ ।

मंगलबार सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष एवं पूर्वशहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहितको प्रतिष्ठानको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेटेर प्रधानको नामममा हुलाक टिकट प्रकाशन गर्न आग्रह गरेको हो ।

जीवनपर्यन्त सामाजिक न्याय र महिला मुक्ति आन्दोलनमा संघर्षरत रहेकी प्रधानको नाम र तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न आफूहरुले सरकारको ध्यानाकर्षण गराएको पूर्वमन्त्री झाँक्रीले बताइन् ।

उनले प्रधानजस्ता अग्रज व्यक्तित्वका योगदानहरुलाई जीवन्त बनाइ राख्न र आउँदो पुस्तालाई समेत परिचित गराउन प्रधानको नाममा हुलाक टिकट प्रकाशन गर्नुपर्नेमा जोड दिइन् ।

सञ्चारमन्त्री शर्माले यस विषयमा सरकार सकारात्मक रहेको उल्लेख गर्दै सामाजमा योगदान गरेका यस्ता मूर्धन्य व्यक्तित्वहरुको सम्मान गर्नु राज्यको समेत दायित्व रहेको बताइन् ।

 

 

Comments

Back to top