भीषण गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित
ग्रीसमा बढ्दो तापक्रमको प्रभावले धेरै लोकप्रिय पर्यटकीय टापुहरूमा डढेलो लागेको र यसका कारण ठूलो सङ्ख्यामा मानिसहरू स्थानान्तरण हुन बाध्य भएका मङ्गलबार ग्रीक अधिकारीहरूले बताएका छन्।
देशका धेरै क्षेत्रहरूमा तीव्र हावाको कारण जङ्गल र वरपरका वस्तीमा खतरनाक डढेलोको जोखिम भएको भन्दै ‘रेड अलर्ट’ सूचना जारी गरिएको छ ।
ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौं स्थानीय र पर्यटक भागेपछि निकै तातो मौसम सुरु भएको हो र ग्रीक प्रधानमन्त्रीले गर्मीले आक्रान्त राष्ट्र आगोको ज्वालासँग ‘युद्धमा’ रहेको बताएका छन् ।
ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले मन्त्रीपरिषद्को बैठकमा भने, “हाम्रो अगाडि अर्को कठिन ग्रीष्मऋतु छ । राष्ट्र अहिले आगोको ज्वालासँग ‘युद्धमा’ रहेको छ ।”
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गत साता मात्रै ३५ हजार हेक्टर (८६ हजार ५ ०० एकड) वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ ।
राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस (१०६ डिग्री फरेनहाइट) र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ता ईएमवाईले जनाएको छ ।
ग्रीसको कोर्फु टापुबाट सोमबार करिब दुई हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । रोड्स टापुमा दसौं हजार मानिसहरू पहिले नै भागेका छन् भने त्रसित पर्यटकहरू उद्धार उडानहरूमा घर फर्कन हतारिइरहेका छन् ।
Comments