अमेरिकाले पठायाे उत्तर कोरिया लक्षित अर्काे पनि परमाणु हतियारयुक्त पनडुब्बी

उत्तर कोरियाको आणविक धम्कीलाई जवाफ दिन आफ्नो शक्ति प्रदर्शन गर्न अमेरिकाले दक्षिण कोरियामा अर्को आणविक सक्षम पनडुब्बी तैनाथ गरेको छ। 

दक्षिण कोरियाली सेनाले दिएको जानकारी अनुसार अमेरिकी सेनाले जुलाई महिनामा कोरियाली प्रायद्वीपमा पठाएको यो दोस्रो ठूलो पनडुब्बी हो । सेनाका अनुसार युएसएस केन्टकी पनडुब्बी बुसानको मुख्य भूमि बन्दरगाहमा आइपुगेको करिब एक हप्तापछि युएसएस अन्नापोलिस पनडुब्बी जेजु आइल्याण्डमा प्रवेश गरेको थियो। 

यूएसएस केन्टकी सन् १९८० को दशकपछि दक्षिण कोरियामा तैनाथ गरिएको पहिलो आणविक हतियारयुक्त पनडुब्बी थियो। यो तैनाथीको जवाफमा उत्तर कोरियाले ब्यालेस्टिक र क्रुज मिसाइल प्रहार गरेको थियो । यी क्षेप्यास्त्र प्रक्षेपणहरू मार्फत कथित रूपमा यस क्षेत्रमा तैनाथ दक्षिण कोरिया र अमेरिकी पनडुब्बीलाई लक्षित परमाणु हतियार क्षमता रहेको देखाउने प्रयास गरेको छ।

युएसएस अन्नापोलिसको मुख्य लक्ष्य दुश्मन देशहरुको जहाजहरु र पनडुब्बी नष्ट गर्नको लागी बनाइएको हो । यो पनडुब्बी एक आणविक पावर प्लान्टबाट संचालित छ तर यसमा परम्परागत हतियार तैनाथ गरिएको छ ।

दक्षिण कोरियाली नौसेनाका प्रवक्ता जाङ डो यङले युएसएस अन्नापोलिस पनडुब्बी मुख्यतया सामान ढुवानी गर्न जेजु आइपुगेको बताए। तर अमेरिका र दक्षिण कोरियाका सेनाले पनि पनडुब्बी सञ्चालनका लागि तालिमको व्यवस्था गर्ने कि नगर्ने भन्ने विषयमा पनि विचार गरिरहेका छन् ।

 

Comments

Back to top