नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज सोमबार (माघ १६ गते) नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश प्रयोजनार्थ यी दुई कम्पनीले भोली मंगलबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउनुका साथै यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

नेरुडे लघुवित्तले माघ २८ गते उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजेबाट वार्षिक साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर वा प्राप्ती गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, शिखर इन्स्योरेन्सले माघ २५ गते आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजेबाट वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि र प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । लेखापरीक्षक नियुक्त गर्ने एजेण्डा पनि रहेको छ ।

Comments

Back to top