विश्वकप टिभीमा हेर्न अतिरिक्त ५०० रुपैयाँ तिर्नुपर्ने, वितरकलाई करोडौँ नाफा!

यसपालि उपभोक्ताहरूले विश्वकप फुटबल प्रतियोगिता हेर्न ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ।

प्रत्यक्ष प्रसारणको अधिकार लिएको मिडिया हबले नेपालमा विश्वकप फुटबलको प्रसारण अधिकारका लागि तिर्नुपर्ने शुल्क महँगो भएका कारण उपभोक्ताबाट रकम उठाउन लागिएको दाबी गरेको छ।

यो खर्चको नेपालको टेलिभिजनलाई प्रसारण अधिकार बिक्री र विज्ञापनबाट मात्रै लागत नउठ्ने भएपछि ग्राहकहरूसँग रकम उठाउन लागिएको मिडिया हबले बतायो।  

भारतीय कम्पनी भायकमबाट प्रसारण अधिकार खरिद गर्न र विश्वकपको प्रचार प्रसार गर्न समेत गरी ४० देखि ४१ करोड रुपैयाँसम्म खर्च हुने मिडिया हबको दाबी छ।

मिडिया हबका अध्यक्ष धितालका अनुसार नेपालमै प्रसारण अनुमति लिइएपछि विश्वकप फुटबल प्रसारण गर्ने विदेशी च्यानलहरू नेपालका टेलिभिजनहरूमा नआउने भएका छन्। “हामीले हिमालय टेलिभिजनलाई प्रसारण अधिकार दिँदै छौँ। त्यहाँबाट मात्र विश्वकप प्रसारण हुन्छ। अरू विदेशी च्यानल हाम्रोमा आउँदैन,” मिडिया हबका अध्यक्ष धितालले भने।

शुल्क तिरेर मात्र महत्त्वपूर्ण कार्यक्रमहरूको प्रसारण हेर्न मिल्ने अभ्यास नयाँ नभए पनि नेपालमा पहिलो पटक भएको केवल टेलिभिजन सेवा प्रदायकहरूको दाबी छ।
 

Comments

Back to top