गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नाफा ८५ प्रतिशतले घट्यो

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेको र खुद फि तथा कमिशन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३४.१६ प्रतिशतले बढेर ६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधीमा कम्पनीको यस्तो नाफा ५ करोड २ लाख रुपैयाँमा सीमित थियो ।

असोज मसान्तसम्म कम्पनीको सञ्चालन मुनाफा ८७.५५ प्रतिशतले घटेर २५ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड ५७ लाख रुपैयाँ रहेको थियो । कम्पनीको इम्पेरमेन्ट चार्ज १ करोड ४८ लाख रुपैयाँबाट बढेर ३ करोड ११ लाख रुपैयाँ पुगेको छ । नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ३३ पैसा घटेर ९६ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३४४.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४५ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पुँजी ९५ करोड ५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३५ करोड रुपैयाँ सञ्चित छ । फाइनान्सले यस अवधिसम्म ६ अर्ब ७८ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४४ करोड २१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

Comments

Back to top