व्यावसायिक खेतीले गर्दा लसुनमा आत्मनिर्भर बन्दै हुम्ला

लसुन उत्पादनमा हुम्ला जिल्ला आत्मनिर्भर भएको छ । आम्दानी धेरै हुन थालेपछि धेरै किसान लसुन खेतीमा आकर्षित हुँदा हुम्ला जिल्ला नै आत्मनिर्भर भएको हो । सिमकोट गाउँपालिका–४ का छिमेल लामाले चार रोपनी जग्गामा लसुन खेती गरेर २५ क्विन्टलभन्दा बढी उत्पादन गरेको बताए ।

उनले सो लसुन बिक्री गर्दा १० लाख रुपियाँ कमाइ भएको जानकारी दिए । लसुन प्रतिकेजी चार सय रुपियाँमा बिक्री हुँदै आएको छ । अन्य बालीभन्दा लसुन खेतीमा धेरै नाफा भएको बताउँदै लामाले आफ्नो गाउँभरिका किसान लसुन खेतीमा आकर्षित भएको बताए ।

धेरै हुने सिमकोट–८, स्याँडा गाउँमा ८० रोपनीभन्दा बढीमा लसुन खेती गरिएको छ । पाँच रोपनी जग्गामा लसुन खेती गर्नुभएका स्याँडाकै जसमल बुढाले १२ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको बताए । दुई वर्ष अघिसम्म नेपालगञ्जबाट महँगो भाडा तिरेर हवाईजहाजबाट ढुवानी गरिएको लसुन सिमकोटमा बिक्री हुने गरेको थियो ।

दुई वर्षयता भने स्थानीय लसुन नै पर्याप्त पाइने भएकाले नेपालगञ्जबाट ल्याउनु नपरेको तरकारी व्यापारी सुमित्रा थापाले बताईन् । उनले यस वर्ष मात्रै ३० क्विन्टलभन्दा बढी स्थानीय लसुन बिक्री गरिसकेकी छिन् । जिल्लामा उत्पादन हुने लसुनको तथ्याङ्क दिन नसके पनि कृषि विकास कार्यालय लसुनमा आत्मनिर्भर भएको दाबी गर्दै आएको छ ।

यसअघि जिल्लाबाहिरबाट हवाईजहाजमा ल्याउने गरेको लसुन प्रतिकेजी साढे चार सय रुपियाँ पर्थ्यो । अहिले स्थानीय लसुन सस्तो पर्ने गरेको छ । अर्गानिक, सस्तो र ताजा हुने भएको उपभोक्ताले स्थानीय लसुनलाई रुचाउने पनि गरेका छन् ।

Comments

Back to top