यूएसएड बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारको प्रमुख वैदेशिक सहायता एजेन्सी यूएसएड बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्प प्रशासनले यूएसएडलाई बन्द गरेर परराष्ट्र मन्त्रालयमा गाभ्ने घोषणा गरेको हो ।
राष्ट्रपति ट्रम्पले ९० दिनका लागि सबै प्रकारका विदेशी सहायतामाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । यो प्रतिबन्ध विदेश नीतिको समीक्षा नभएसम्म लागू रहने बीबीसीको समाचारमा उल्लेख छ ।
अमेरिकी सरकारले यूएसएड बन्द गर्ने घोषणा गरेको विदेशमन्त्री मार्को रुबियोले पत्रकारहरूलाई दिएका हुन् । आफू अब यूएसएडको कार्यवाहक प्रमुख रहेको पनि उनले जानकारी दिएका छन् ।
अमेरिकी सरकारले यसअघि सोमबार सहायता एजेन्सीका कर्मचारीहरूलाई राजधानी वाशिंगटन डीसीस्थित मुख्यालयबाट टाढा रहन र घरमै बस्न आदेश दिएकाे थियाे ।
यो अमेरिकाको अन्तर्राष्ट्रिय एजेन्सीले विश्वभर अरबौं डलरको सहायता वितरण गर्ने गरेको थियो । जसमा नेपालसहित विश्वका धेरै देश समावेश छन् । यस्तो अवस्थामा ट्रम्पको निर्णयले यूएसएडमार्फत् सञ्चालित धेरै स्वास्थ्य र पोषणसम्बन्धी कार्यक्रमलाई स्पष्ट रूपमा असर गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार बनाएका छन् ।
यूएसएडले विश्वभरका गैरसरकारी संस्था, सहायता समूह र गैर–नाफामुखी संस्थाहरूलाई अर्बौं डलरको सहायता प्रदान गर्दछ ।
यूएसएडको स्थापना सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले गरेका थिए । यसका विश्वव्यापी रूपमा लगभग १० हजार कर्मचारी रहेका छन् र वार्षिक बजेट लगभग ४० अर्ब डलर छ । जबकि अमेरिकी सरकारको वैदेशिक सहायताको कुल बजेट ६८ अर्ब डलर रहेको छ ।
यूएसएडले युक्रेन, इथियोपिया, जोर्डन, कङ्गो, सोमालिया, यमन, अफगानिस्तान, बंगलादेश, म्यानमार, नाइजेरिया, दक्षिण सुडान र सिरियालाई महत्वपूर्ण सहयोग प्रदान गर्ने गरेको थियो ।
एजेन्सी
Comments