गोरखा र सङ्खुवासभामा आगलागी हुँदा चार वटा घर जले

गोरखा र सङ्खुवासभामा भएको आगलागीबाट चार वटा घर जलेका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ स्याम्चेतमा हिजो भएको आगलागीमा तीन वटा घर जलेका हुन् ।

स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । आगलागीबाट पूर्णबहादुरसहित उनका छोरा बुद्धिमान लामा र आइतसिंह लामाको घर जलेर नष्ट भएको छ । आगोले तीन वटाघरसहित लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेका छन्।

यस्तै सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ वाबुङमा एउटा घर जलेको छ । स्थानियबासिन्दा मानधोज राईको घरमा हिजो भएको आगलागीले ढुङगा माटोले बनेको घर, घरदेखि नजिकै रहेको गोठ जलेको छ । घरमा कोही नभएको बेला आगो लागेको हो । झन्डै तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घर र गोठ जलेका राईको परिवार आफन्तकोमा बसेका छन् ।

हिउँद लागेसँगै आगलागी र वनजङ्गलमा डढेलोको जोखिम उच्च हुन्छ । आगलागी र डढेलो लाग्नै नदिन वा लागिहालेमा हुने क्षति घटाउन सावधानी, चेतनासँगै पूर्वतयारी आवश्यक पर्ने विपद् विज्ञले बताउँदै आएका छन् ।

एजेन्सी

Comments

Back to top