तनहुँको मार्कीचोक २२० केभी सबस्टेसन सञ्चालनमा

तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जीआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको छ ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् मार्कीचोक सबस्टेसनबाट मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि मङ्गलबार नै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।

मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखबाट सञ्चालनमा आइसकेको छ । दुबै सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुबै सबस्टेसनको क्षमता ३२०/३२० एमभीए छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मर्स्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाहरुको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए ।

एजेन्सी

Comments

Back to top