नयाँ पार्टी खोल्ने तयारीमा एमालेबाट निष्कासित रावल , आज पत्रकार सम्मेलन गर्दै
नेकपा (एमाले)बाट कारबाहीमा परेका पूर्वउपाध्यक्ष भीम रावल नयाँ पार्टी बनाउने तयारीमा जुटिरहेका छन् ।
उनले नयाँ पार्टीको तयारीबारे जानकारी दिन आज (बुधबार) पत्रकार सम्मेलन गर्दैछन् । बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो १ बजे पूर्वउपप्रधानमन्त्री रावलको पत्रकार सम्मेलन हुँदैछ ।
रावलले यसअघि आफ्नो समर्थकमा रहेका विभिन्न नेता–कार्यकर्तासँग छलफल गरिसकेका छन् ।
उनले काठमाडौंस्थित निवासमै सोमबार सुदूरपश्चिमका नेताहरूसँग भेटघाट गरेका थिए ।
नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा तारा जोशीसँग उनले भेट गरेका हुन् ।
रावलसँग भेटेका मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति हुन् भने जोशी नेकपा (एकीकृत समाजवादी)का पूर्वकेन्द्रीय सदस्य हुन् ।
स्थानीय तह निर्वाचन २०७९ मा डडेल्धुराका स्थानीय तहमा आफ्नाविरुद्ध स्वतन्त्र ढङ्गले उम्मेदवारी दर्ता गराउन लगाएको आरोपमा कांग्रेसले मल्ललाई पार्टीबाटै निकालेको थियो ।
यता, जोशी गएको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि सुदूरपश्चिम प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
एमालेले पार्टीविरुद्ध अभिव्यक्ति दिएको भन्दै अघिल्लो हप्ता रावललाई सङ्गठित सदस्यबाट समेत निस्कासित गरेको थियो।
एजेन्सी
Comments