चीनले विश्वको सबैभन्दा लामो द्रुतमार्ग सुरुङ बनायो

चीनले विश्वको सबैभन्दा लामो 'एक्सप्रेसवे' (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ । चीनले शिनजियाङ्गमा चार वर्ष लगाएर विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ निर्माण गरेको हो ।

तियानशान शेङ्गली सुरुङ २२ किलोमिटर १३ मिटर लामो रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो सुरुङ तियानशान पर्वत भएर यात्राको समय कम गर्नका लागि बनाइएको हो । शिनजियाङ्ग चीनको स्वायत्त क्षेत्र हो ।

एक्सप्रेसवे सुरुङ सञ्चालनमा आएपछि उत्तरी र दक्षिणी शिनजियाङ्गको बीचमा सम्पर्क सुधार हुने खबरमा उल्लेख छ। शिनजियाङ्गको दक्षिण–पश्चिम सीमा भारतसँग जोडिएको छ ।

तियानशान सुरुङ निर्माणको काम सन् २०२० को अप्रिलमा शुरू भएको थियो । सुरुङ निर्माणका क्रममा तीन हजार मिटरभन्दा धेरैको उचाइमा रहेको जटिल भौगोलिक अवस्थालगायत धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो।

यो सुरुङ निर्माण गर्न टीबीएम मेशिनको प्रयोग भएको थियो। चीनमा सडक सुरुङ निर्माण गर्न पहिलो पटक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग भएको हो । यो मेशिनको प्रयोगका कारण सुरुङ निर्माणमा लाग्ने समय १० वर्षबाट घटेर चार वर्षमा झरेको थियो । निर्माण कार्यमा तीन हजार जनाभन्दा धेरै श्रमिक खटाइएको थियो ।

एक्सप्रेसवे सुरुङका कारण तियानशान पर्वतको बीचको यात्राको समय तीन घण्टाबाट घटेर २० मिनेटमा झर्ने सिन्ह्वाको खबरमा उल्लेख छ । यो सुरुङ आउँदो वर्ष सञ्चालनमा आउनेछ ।

एजेन्सी

Comments

Back to top