बङ्गलादेशमा एक वर्षभित्र चुनाव हुने
बङ्गलादेशमा आउँदो एक वर्षभित्र चुनाव हुने अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा गएको अगस्टमा विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आउँदो वर्षको अन्त्य वा सन् २०२६ को शुरूमा आमचुनाव हुने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
गएको अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसले कामचलाउ सरकारको नेतृत्व गरेका थिए । उनले झन्डै १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनर्स्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्ने र चुनाव गर्ने जिम्मेवारीलाई स्वीकार्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहेका छन् ।
गएको अगस्टमा ढाकामा रहेको प्रधानमन्त्रीको कार्यालयमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी देश भारततर्फ भागेकी थिइन् ।
बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसले आवश्यक सुधारको अनुगमनका लागि आयोगहरू गठन गरेका छन् । चुनावको मिति तोक्ने कुरा राजनीतिक दलहरूको सहमतिमा निर्भर गर्नेछ । राजनीतिक दलले त्रुटिरहित मतदाता नामावलीजस्ता न्यूनतम सुधारका साथ पहिलेकै मितिमा चुनाव गर्न सहमत भएमा नोभेम्बरको अन्त्यसम्ममा चुनाव गर्न सकिने उनको भनाइ छ ।
बङ्गलादेशमा पछिल्लो पटक गएको जनवरीमा आमचुनाव भएको थियो । चुनाव स्वतन्त्र र निष्पक्ष हुने कुरामा आशङ्का व्यक्त गर्दै विपक्षी दलहरूले त्यो चुनावलाई बहिष्कार गरेका थिए भने चुनावमा हसिनाको दल अवामी लिगलाई दुई तिहाइ सिट प्राप्त भएको थियो ।
एजेन्सी
Comments