नेपाल पत्रकार महासङ्घमा पहिलो पटक महिला नेतृत्व

नेपाल पत्रकार महासङ्घले पहिलो पटक महिला नेतृत्व पाएको छ । शुक्रवार भएको मतदानमा देशभरका ९ हजारभन्दा धेरै पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका हुन् ।

महासङ्घको केन्द्रीय निर्वाचन समितिले हिजो अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिष्पर्धी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गरे ।

उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिष्पर्धी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गरे ।

महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिष्पर्धी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएको छन् ।

एजेन्सी

Comments

Back to top