इरान समर्थित समूहमाथि खरो रूपमा उत्रिन इराकलाई अमेरिकी विदेशमन्त्रीको दबाब
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरान समर्थित मिलिसियामाथि कडा कारबाही गर्न इराकलाई पनि दबाब दिएको शनिबार एक अमेरिकी अधिकारीले बताएका छन् ।
सिरियाली नेता बसर अल असदको पतनपछि तेहरान कमजोर अवस्थामा पुगेको मुल्याङ्कन गर्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले इरान समर्थित मिलिसियामाथि कडा कारबाही सुरू गर्न प्रोत्साहन गरेको उनले बताए ।
इस्लामिक नेतृत्वको सिरियाली विद्रोहीले इरानको प्रमुख सहयोगी असद परिवारको आधा शताब्दी लामो शासन अन्त्य गरेपछि भएको क्षेत्रीय भ्रमणको अन्तिम समयमा ब्लिन्केनले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग शुक्रबार बग्दादमा भेटवार्ता गरेका थिए ।
अमेरिकी अधिकारीका अनुसार ब्लिन्केनले सुडानीलाई इरान केही समययता कमजोर अवस्थामा रहेको र इराकसँग तेहरानको प्रभाव कम गर्ने अवसर रहेको बताएका थिए ।
ब्लिन्केनले सुडानीलाई वर्षौंदेखि इराकमा अमेरिकी सेनामाथि आक्रमण गर्दै आएको इरान समर्थित इराकी शिया सशस्त्र समूहमाथि कडा कारबाही गर्न आग्रह गरेका थिए ।
ब्लिन्केनले सुडानीलाई इराकी भूमिबाट सिरियामा रहेका कुनै पनि सम्बद्ध समूहलाई इरानी हतियार हस्तान्तरण हुन नदिन सहयोग गर्न पनि आग्रह गरेका छन् ।
बग्दादमा भएको बैठकपछि ब्लिन्केनले आफ्नो सार्वजनिक टिप्पणीमा अमेरिका इराकको सार्वभौमिकताका लागि काम गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
एजेन्सी
Comments