विद्रोहीले कब्जा गरेसँगै सिरियामा इजरायलको हवाई आक्रमण

इजरायली लडाकु विमानले सिरियाको राजधानी दमास्कससहित देशभर आक्रमण शुरू गरेका छन् । सिरियामा विद्रोही समूहले सत्ता कब्जा गरेसँगै इजरायलले सैन्य लक्षित सयभन्दा बढी आक्रमण गरेको बीबीसीले जनाएको छ ।

इस्लामिक विद्रोह समूहले राष्ट्रपति बसर अल असदको सत्ता अपदस्त गरेसँगै इजरायलले सिरियामाथि आक्रमण शुरू गरेको हो । इजरायलले दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएको छ ।

इजरायलले रासायनिक हतियार उत्पादनसँग जोडिएको एक अनुसन्धान केन्द्रमा समेत आक्रण गरेको हुनसक्ने आशङ्का छ। इजरायलले भने चरमपन्थीहरुको हातमा हतियार जानबाट रोक्नका लागि काम गरिरहेको प्रतिक्रिया दिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशको सुरक्षाका लागि यो कारबाही जरुरी रहेको बताएका छन् । यसअघि परिवारसहित रुस पुगेका सिरियाका अपदस्त राष्ट्रपति असदलाई रुसले विद्रोहीसँग वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिइरहेको छ । 

एजेन्सी

Comments

Back to top