सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको इजरायलको दाबी
इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताएका छन् । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेको थियो ।
“बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू चरमपन्थीहरूका हातमा नपरुन् भनेर हामीले रणनीतिक हतियार प्रणालीमा आक्रमण गर्यौँ”, इजरायलले विद्रोहीहरूको कार्यलाई निगरानी गरिरहेको भन्दै पत्रकार सम्मेलनमा सारले भने, “हामीले गरेका कदमहरू, हाम्रो एकमात्र सरोकार इजरायलको सुरक्षा र त्यहाँका नागरिकहरूको हो ।”
इजरायली मिडियाले शुक्रबार सेनाले सिरियामा रासायनिक हतियारको भण्डारमा आक्रमण गरेको रिपोर्ट गरेको छ ।
बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सोमबार इजरायली सेनाले तटीय र दक्षिणी सिरियामा फैलिएको धेरै स्थानमा रातभर आक्रमण गरेको बताएको छ ।
“पूर्व शासनको पतनको घोषणा भएको प्रारम्भिक घन्टादेखि नै इजरायलले जानाजानी हतियार र गोला बारुद भण्डारहरू नष्ट गर्दै सघन हवाई आक्रमण गर्न थाल्यो”, अब्जर्भेटरीले भन्यो।
सोमबार एएफपीका तस्वीरहरुले दमास्कसको बाहिरी भागमा रहेको माजेह सैन्य विमानस्थलमा क्षति देखायो, जसमा नष्ट हेलिकप्टर र जेटहरू थिए । त्यहाँ इजरायली सेनाले नजिकैको हतियार भण्डारहरूमा आक्रमण गरेको थियो ।
सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि इजरायलले मुख्यतया सेना र इरान समर्थित समूहहरूलाई लक्षित गर्दै देशमा सयौँ आक्रमण गरेको छ ।
इजरायलले सिरियामा व्यक्तिगत आक्रमणबारे विरलै टिप्पणी गर्छ तर बारम्बार इरानलाई देशमा आफ्नो उपस्थिति विस्तार गर्न नदिने बताएको छ ।
इजरायलले शनिबार सिरियाको सिमानामा रहेको गोलान हाइट्स क्षेत्रको असैन्यीकृत बफर जोनमा पनि सेना पठाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले ‘कुनै पनि शत्रु शक्तिलाई हाम्रो सीमामा आफूलाई स्थापित गर्न दिने छैन’ भने ।
मन्त्री सारले सोमबार बफरको अधिग्रहण ‘सुरक्षा कारणका लागि हामीले लिएको सीमित र अस्थायी कदम’ भएको बताए।
एजेन्सी
Comments