जसले नेपाली वेलनेस ब्राण्डलाई विदेशमा चिनाए
कुनै समय बिदेशीले मात्र संचालन गर्ने स्पा तथा वेलनेस व्यवसाय नेपालीले पनि संचालन गर्न सक्छन् भनी प्रमाणित गर्ने व्यवसायी हुन् भुवन फैंजु। उनले स्थापना गरेको ट्रयाङक्युलिटी स्पा अहिले नेपालकाे अग्रणी स्पा कम्पनीका रूपमा परिचित छ।
आजभन्दा करिब १७ वर्षअघि आधिकारिक रुपमा दर्ता गरेर सञ्चालनमा ल्याइएकाे याे नेपालकाे पहिलाे डे स्पा हो । त्यतिबेला यस प्रकारको कम्पनी नेपालीले दर्ता गरेका थिएनन्। केही विदेशी कम्पनीहरुले शाखा खोलेर सेवा मात्रै दिँदै आएका थिए ।
विगत २६ वर्षदेखि होटल तथा सत्कार व्यवसायमा आवद्ध रहेका फैंजु १७ वर्षदेखि स्पा तथा वेलनेसकै क्षेत्रमा कार्यरत छन् । उनले सन् २००७ मा विधिवत रुपमा ट्रयाङक्युलिटी स्पा दर्ता गरेर सेवा दिँदै आइरहेका हुन् ।
२०३४ सालमा काभ्रेको पाँचखालमा जन्मिएका फैंजुका बाजे व्यापारका सिलसिलामा भक्तपुरबाट काभ्रे पुगेका थिए । भुवनका पिताको पुस्ता र भुवन काभ्रे पाँचखालमै जन्मिए, हुर्किए ।
काभ्रेकै विद्यालयमा पढेका फैंजुले २०५० सालमा स्थानीय सर्वमंगला माविबाट एसएलसी दिएका थिए । एसएलसीपछि कलेज पढ्न र काम गर्न उनी काठमाडौं आए । काठमाडौंमा पुस माघको जाडोमा उनले १६ वर्षको उमेरमा दैनिक १८ घण्टासम्म ट्याङ्करमा पानी पुर्याउने काम गरेकाे अनुभब सुनाउछन फैंजु।
‘परिवर्तनको मोड’ ले ल्याएको परिवर्तन
एसएलसीपछि आफूलाई विद्यालयमा नेपाली पढाएका गुरु प्रा डा रामप्रसाद ज्ञवालीको ’परिवर्तनको मोड’ भन्ने पुस्तक पढेपछि १६ वर्षकै उमेरमा उनको मनमा काम गरेर आत्मनिर्भर हुनुपर्छ भन्ने कुराको झिल्को बल्यो । प्राडा ज्ञवाली तिनै गुरु हुन् जसले फैंजुको नेपाली भाषा पनि सुधारिदिएका थिए ।
काठमाडौंमा काम गर्दै उनले आन्दोलन नहुने क्याम्पस खोज्ने क्रममा ठँहिटीमा रहेको हिरालाल मल्टिपल क्याम्पसमा दाजु रामेश्वर फैंजुको सुझावमा धेरै विकल्पमा जान सकिने भनेर कमर्स पढे । उनले आईकम टप पनि गरे ।
त्यसपछि उनले मार्केटिङ लगायत विभिन्न क्षेत्रमा काम गरे । सन् १९९८ मा गोदावरी भिलेज रिसोर्टमा कामका लागि पुगे । रिसोर्टको स्वीमिङ पुल र हेल्थसम्बन्धी सम्पूर्ण जिम्मेवारी वहन गर्दै गर्दा र्याडिशन होटलको कार्यसमिति बैठकमा आएका चिफ इन्जिनियर केबी श्रेष्ठको आँखा उनीमाथि पर्यो ।
सोल्टी होटलमा लामो समयदेखि स्पामा काम गरिरहेका उनका दाजु रामेश्वरसँग अनुहार मिलेकोले उनले आफैं बोलाए । पछि दाजु रामेश्वरलाई भनेर र्याडिशनमा कामका लागि आग्रह गरे । दाजु रामेश्वर र भाउजु सरिताले उनलाई कर्म दिएको र दाजु रामेश्वर यो क्षेत्रको आफ्नो पहिलो गुरु भएको फैंजु गर्वसाथ सुनाउँछन् ।
र्याडिशनमा गरेको मेहनतको दीर्घकालीन प्रभाव
र्याडिशनमा तलब र पद गाेदावरीकाे भन्दा कम भएको दाजु रामेश्वरलाई सुनाउँदा दाजुले ठूलै रुखको ओत लाग्नु दीर्घकालीन रुपमा राम्रो हुने सुझाए । त्यसपछि उनले र्याडिशनमा सन् १९९९ मा हाल अलफ्ट होटलका महाप्रबन्धक बिक्रमसिंह जैसवालको मातहतमा कडा मेहनतका साथ काम गरे ।
सोही क्रममा सन् १९९९ मै उनले लगनखेलको नमुना मच्छिन्द्र कलेजमा बीबीएस पढ्न थाले । तर कामको दबाबबीच उनले पढाईलाइ निरन्तरता दिन भ्याएनन् । तर दाइले कामको दबाबले फाइदा हुने बताएपछि उनले अझ दत्तचित्त भएर काममा ध्यान दिए ।
होटल म्यानेजमेन्ट पढ्न पाएनन्, पढेकालाई काम सिकाए
त्याे समय उनलाई होटल म्यानेजमेन्ट पढ्न रहर लाग्याे । उनले पोखराको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसीमा भर्ना हुने विचार गरे । पूरा कोर्षका लागि साढे ३ लाख लाग्ने सुनेपछि उनले आँट गरेनन् र काठमाडौंमा फर्किएर होटलमै काम गर्न थाले ।
उनको काम देखेर सन् २००१ मा हायात होटलबाट प्रस्ताव आयो । संयोगवश पोखरामा आफूसँगै होटल म्यानेजमेन्ट पढ्न गएका र पढेर फर्किएका साथीहरुलाई त्यहा काम सिकाउने अवसर पाए । त्यसपछि उनी स्पा तथा वेलनेस सम्बन्धी पढाईका लागि थाइल्याण्ड गए । थाइल्याण्ड जानुअघि उनले नेपालमै गोदावरी भिलेज रिसोर्टमा १ वर्ष, र्याडिशनमा ९ महिना तथा हायात होटलमा साढे २ वर्ष काम गरेका थिए । यस्तै लि मेरिडियनमा २ वर्ष काम गरे र दुबईमा केही समय काम गरिसकेका थिए ।
विदेशको जागिर छोडेर नेपालमै फर्किए
उनले विदेशमा पढाई सकेपछि सहजै राम्रो पदमा जागिर पाए । तर विदेशीले अन्य नेपाली दाजुभाइलाई हेपेको उनलाई पटक्कै मन परेन । अब नेपालमै काम गर्नुपर्छ भनेर उनी फर्किए । फर्केपछि उनले आफ्नो व्यवसाय शुरु गरे । उनले नेपाल आएर आफूले जे जानेका, पढेका थिए त्यही सिकाए ।
२००४ को अन्त्यतिर केही साथीहरुसँग मिलेर स्पा तथा वेलनेस व्यवसाय नेपालीले नै गर्दा कत्तिको चल्छ भनेर अनुसन्धान गरे । २ वर्षमा राम्रै प्रतिक्रिया पाए र नेपालमा पनि यो व्यवसाय गर्न सकिन्छ भन्ने प्रमाणित भएपछि सन् २००७ मा ट्रयाङ्क्युलिटी स्पा विधिवत रुपमा सुरु गरे ।
अर्को वर्ष २००८ मा फैंजुले ट्रयाङ्क्युलिटी स्पाकाे पहिलो शाखा लाजिम्पाटमा विस्तार गरे । २००९ मा कुपण्डोलमा र २०१० मा यो क्रमलाई बौद्धमा निरन्तरता दिए । यसैगरी २०११ मा पोखरा, २०१२ मा होटल बाराही, २०१३ मा होटल मल्ल, २०१४ मा र्याडिशन होटलमा स्पा स्थापना गरे । सन् २०१५ मा मलेशियामा रहेको एउटा स्पा लाई प्रविधिक सहयोग पनि गरे ।
सन् २०१६ मा होटल साङ्ग्रिला, २०१७ मा होटल लर्ड्स इन, २०१८ मा होटल सोल्टी २०१९ मा बालुवाटारमा ट्र्र्याङ्क्युलिटी स्पाको शाखा विस्तार गरे । २०२० मा कोरोनाका कारण यो श्रृङ्खला नरोकिएको भए अझै १/ २ वटा शाखा विस्तार गर्न सकिने फैजु बताउँछन् ।
विदेशमा पनि शाखा विस्तार
सन् २०१५ मा मलेसियाको मेरियोट होटलले स्पा को प्राविधिक सहयोग माग गरेपछि उनले प्राविधिक सहयोग प्रदान गरे । फैंजु भन्छन्, ’पछि उक्त होटलले ट्र्याङ्क्युलिटी स्पा ब्राण्डकै नाम प्रयोग गर्यो । उक्त होटल सन् २०१९ मा मलेसियाभरिका होटलमध्ये सर्वोत्कृष्ट स्पा होटल घोषित भयो।अहिले ट्रयाङक्युलिटी स्पा मलेशियाबाट आसियानमा छनौट भएको छ । नेपालको स्पा व्यवसाय विदेशमा पनि बिस्तार हुन सक्छ भन्ने यो ज्वलन्त उदाहरण हो, फैजु भन्छन्।
कुनै समय कर्मचारी अहिले त्यहाकै पार्टनर
कुनै समय फैजु आफैंले काम गरेको र्याडिशन होटलमा तत्कालीन सीईओ स्व. बीके श्रेष्ठसँग साझेदारी गरेर स्पा खोले। श्रेष्ठले खुशी हुँदै कुनै समयमा आफ्नो कर्मचारी भएको र अहिले पार्टनरका रुपमा काम थालेको भन्दै गर्वका साथ आफ्ना सबै कर्मचारीलाई सुनाएको फैंजु सम्झन्छन् । यो उनका लागि जिबनको सुखद अनुभुती हो।
वेलनेस, एजुकेशन, स्पोर्ट र मेडिकल टुरिजम बढाउने याेजना
नेपालमा रोजगारी सिर्जना र विदेशी मुद्रा भित्र्याउन वेलनेसलगायत स्पोर्टस, मेडिकल र एजुकेशन टुरिजमलाई प्रवर्द्धन गर्नुपर्ने फैंजुको भनाई छ ।
’एउटा होटलमा एक रात बसेकोभन्दा धेरै रकम १ घण्टा स्पामा बस्दा खर्च हुन्छ । यस्तो अवस्थामा स्पा तथा वेलनेसलगायतका व्यवसायबाट अहिले पर्यटकमार्फत् आएको भन्दा दशौं गुणा बढी रकम स्वदेशमै आम्दानी गर्न सकिन्छ,’ फैंजु भन्छन् ।
यसका लागि उनले नगरकोट तथा पोखराको दोबिल्ला क्षेत्रका होटल तथा रिसोर्टसँग मिलेर वेलनेस पर्यटन प्रवर्द्धनको काम शुरु गरिसकेका छन् ।
यसका लागि बढीभन्दा बढी यस प्रकारका संस्था खोलिनुपर्ने उनी सुझाउँछन् । यस्ता संस्था खोल्न वा काम गर्न मन भएका तर तरिका थाहा नभएकाहरुले आफूलाई सम्पर्क गरेमा न्यूनतम शुल्क लिएर काम र व्यवसाय सञ्चालनको तरिका नै सिकाइदिने उनी बताउँछन् ।
यसको बजार ठूलो भएको प्रतिस्पर्धी नभएका कारण नयाँ व्यवसायी आउनु यो उद्योग र देशकै अर्थतन्त्र र बेरोजगारी समस्या हल गर्ने क्षेत्रमा निकै प्रभावकारी हुने उनको विचार छ । ’धेरैभन्दा धेरैलाई तालिम दिन सकिन्छ । तालिममा अलि अलि रकम त लाग्छ नै । सित्तैंमा सिकाउँदा त्यसको महत्व हुँदैन । सिक्ने शुल्क महंगो लागेमा सोझै आएर भेट्नुस् । सिक्ने शुल्क नै छैन भने काम सिक्नुस र केही समयमा भुक्तानी गर्नुस् । स्पा वेलनेस खोल्नु छ, तरिका थाहा छैन भने हामीसँग आउनुस् हामी सिकाउँछौं’, उनको आह्वान छ ।
विदेश जाने दक्ष जनशक्तिकाे उत्पादन
नेपालमा काम नगरी विदेश जान चाहनेलाई राेकेर दक्ष बनाएर पठाउनुपर्ने उनको भनाइ छ। सरकारले समन्वय गर्ने हो भने विदेश जाने दक्ष जनशक्ति आफूले उत्पादन गरिदिने र यसो हुन सकेमा विदेशमा ३डी अर्थात् डर्टी डिफिकल्ट र डेन्जरस काम गरेर ज्यानको जोखिम मोल्दै थोरै रकम कमाउनेले सहज र आफूले जानेको काम गर्न पाउँछन् भने आम्दानी पनि धेरै हुने उनको भनाइ छ । आम्दानी धेरै हुँदा रेमिट्यान्स पनि धेरै भित्रिन्छ । फैंजुलाई सीप सिकाउन मन लाग्ने भएर थाइल्याण्डमा पढेपछि त्यही कुरा अरुलाई पनि स्पा सिकाएका थिए ।
हालसम्म उनले २ हजार ७०० जनाभन्दा बढीलाई तालिम दिइसकेका छन् । यसरी तालिम लिने लगभग सबै आ–आफ्नाे काम गरेर बसेको देख्दा उनलाई खुशी लागेकाे छ ।
काम गर्न खोज्नेलाई तालिम र रोजगारी
फैंजु आफ्नो स्पामा अरुका कर्मचारी लिँदैनन् । पहिले नै काम पाएकालाई काम दिएर बेरोजगारी अन्त्य हुँदैन भन्ने फैंजुले नयाँ आएकालाई आफैँ तालिमको व्यवस्था गर्छन् । बेरोजगार मान्छेलाई तालिम दिएर काम गर्न सक्षम बनाउने उनको उद्देश्य हो । यो सिलसिला पहिलेदेखि चलिरहेको र आफ्नोमा काम सिकेर पदोन्नति भएर अर्कोमा जाने वा विदेशमा गएर यस्तै क्षेत्रमा रोजगारी गर्ने सिलसिला चलिरहेको उनी बताउँछन् ।
एजेन्सी
Comments