अमेरिकामा जन्मिएको आधारमा स्वतः नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको घोषणा
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमै सन् २०२१ मा क्यापिटल हिल दंगामा संलग्नलाई क्षमा दिने बताएका छन् ।
नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि ट्रम्पले पहिलो पटक टिभी अन्तर्वार्ता दिएका हुन् । ‘ती मानिसहरू नरकमा बाँचिरहेका छन्,’ ट्रम्पले एनबीसीसँगको कुराकानीमा भने ।
ट्रम्पले अमेरिकामा जन्मेकालाई स्वचालित नागरिकता दिने नीति अन्त्य गर्ने घोषणा पनि गरेका छन् । तर, उनले डेमोक्र्याटसँग मिलेर बालबालिका भएर अमेरिका आएका अवैध आप्रवासीलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् ।
ट्रम्पले पदभार ग्रहण गरेपछि अध्यागमन, ऊर्जा र अर्थतन्त्र जस्ता धेरै विषयमा आदेश जारी गर्ने बताएका छन् ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि नाटोबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका थिए । उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरे ।
ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको बताएका छन् ।
एजेन्सी
Comments