दक्षिण कोरियाली राष्ट्रपति युनलाई विदेश भ्रमणमा जान प्रतिबन्ध
मार्शल ल लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ । रोयटर्सकाअनुसार उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो ।
न्याय मन्त्रालयका एक अधिकारी बे साङ्ग-अपले यात्रा प्रतिबन्धको आदेश कार्यान्वयन भइसकेको बताएका छन् ।
दक्षिण कोरियामा राजनीतिक उतारचढाव सुरु भएसँगै रक्षामन्त्री र कतिपय उच्च अधिकारीहरुको राजीनामा आइसकेको छ । भ्रमण प्रतिबन्ध घोषणासँगै राष्ट्रपति युनले थप राजनीतिक संकट भोग्नुपर्ने देखिएको छ ।
योनहाप समाचार एजेन्सीकाअनुसार मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीले युनबाट सेनालाई नियन्त्रण गर्ने अधिकार खोस्न आग्रह गरेको छ । साथै, युन र मार्शल ल फ्यास्कोमा संलग्न कुनै पनि सैन्य अधिकारीहरूलाई पक्राउ गर्न पनि माग गरेको छ ।
एजेन्सी
Comments