जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटवार्ता
अमेरिकाका राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । उनीहरूबीच राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भेटवार्ता भएको हो ।
बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण प्रक्रियाका लागि भेट्न निमन्त्रणा दिएका थिए । यो अमेरिकी राष्ट्रपतिको परम्परा रहेको बीबीसीले जनाएको छ ।
भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाई दिएका थिए । भेटका क्रममा दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएको जनाइएको छ ।
दुई नेताको भेट यसअघि गत जुनमा भएको थियो । त्यसयता चुनावी माहोलमा दुवैले एकअर्कालाई कटाक्ष गरेका थिए ।
सन् २०२० मा बाइडनले राष्ट्रपतिमा जित्दा ट्रम्पले ह्वाइटहाउसमा बोलाएका थिएनन् । ट्रम्पले बाइडनको शपथ ग्रहण समारोहसमेत बहिस्कार गरेका थिए । साथै निर्वाचन परिणाम अस्वीकार गर्दै उनका समर्थकले संसद् भवनमा तोडफोडसमेत गरेका थिए ।
ट्रम्पको शपथ ग्रहण समारोहमा भने बाइडन सहभागी हुने बीबीसीले बिहीबार जनाएको छ । ट्रम्पले आगामी २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन् ।
बाइडेनकै दल डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर रिपब्लिकन नेता ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
एजेन्सी
Comments