रवि लामिछानेको बचाउमा रास्वपाको काठमाण्डौ केन्द्रित आन्दोलन शुरू

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउमा प्रदर्शन गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता/कार्यकर्ताले आजदेखि काठमाण्डौ केन्द्रित आन्दोलन थालेका छन् । उनीहरूले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।

लामिछानेलाई काठमाण्डौमा पक्राउ गरेर पोखरा पुर्‍याएकै दिनदेखि पोखरामा प्रदर्शन गर्दै आएका रास्वपाका नेता/कार्यकर्ताले आजदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन शुरू गरेका हुन् । पक्राउ परेको दोस्रो दिन पनि काठमाण्डौमा प्रदर्शन भएको थियो । आजको विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरूसम्म सहभागी भएका छन् । आजदेखि काठमाण्डौमा आन्दोलन निरन्तर रहने रास्वपाका नेताहरूले बताएका छन् । आज उनीहरूले सरकारविरोधी पर्चा पम्प्लेट बोकेर नारा लगाए ।

सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान गर्ने गरी हिजो जिल्ला अदालत कास्कीले थप सात दिनको समय दिएको छ । सङ्गठित अपराध अनुसन्धानमा ६० दिन हिरासतमा राख्ने पाउने व्यवस्था रहेकोमा सम्पत्ति शुद्धीकरणमा आरोपितलाई ९० दिन थुनामा राख्न सकिन्छ ।

यस्तै लामिछानेमाथि जिल्ला अदालत रुपन्देहीबाट समेत पक्राउ पुर्जी जारी भएको छ । रुपन्देही अदालतले लामिछानेलाई पक्राउ गरेर सङ्गठित अपराधमा अनुसन्धान गर्न अनुमति दिएको हो । पोखरामा बयान सकेर लामिछानेलाई रुपन्देही लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले आन्दोलनको घोषणा गरेको छ । रास्वपाले पोखरा केन्द्रित आन्दोलनलाई छोडेर काठमाण्डौ केन्द्रित भएकै दिन आज महासङ्घले आन्दोलनको घोषणा गरेको हो । सहकारी पीडितलाई मोहरा बनाएर पार्टीगत आन्दोलन गरेको र सरकारले गरेका बैठकमा सहकारी पीडितको प्रतिनिधित्व नगरेका कारण आफूहरूले आउँदाे मङ्सिर ५ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेको अभियानका संयोजक शुभलव केसीले बताए ।

एजेन्सी

Comments

Back to top