अमेरिका र कतारद्वारा गाजा वार्ताको नयाँ घोषणा, ब्लिङ्केन नयाँ विकल्पहरूको खोजीमा

अमेरिका र कतारले बिहीबार गाजा युद्धविरामको वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भने अमेरिका नेतृत्वको योजना महिनौँसम्म असफल भएपछि मध्यस्थकर्ताहरूले नयाँ विकल्पहरू खोजिरहेको बताएका छन् ।

अमेरिकी निर्वाचन हुन दुई साता बाँकी रहँदा सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको आक्रमणयता ब्लिङ्केन यस क्षेत्रको ११औँ भ्रमणमा छन् । इजरेलले गत साता लडाकू समूहका नेता याह्या सिनवारको हत्या गरेको थियो ।

ब्लिङ्केनले वार्ताकारहरूले ‘आगामी दिनहरूमा’ एक वर्षे गाजा युद्ध अन्त्य गर्ने र अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने उपायहरूबारे वार्ता पुनः सुरु गर्ने बताए ।

'हामीले यस क्षणको फाइदा उठाउने र प्रक्रियालाई अगाडि बढाउने अर्को कदमहरूबारे विकल्पहरूमा छलफल गर्‍यौँ', कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीसँगको वार्तापछि ब्लिङ्केनले भने ।

उनले दुई साझेदारले ‘इजरेल फिर्ता हुनसक्ने, हमास पुनर्गठन हुन नसक्ने र प्यालेस्टिनी जनताले आफ्नो जीवन र भविष्य पुनर्निर्माण गर्नसक्ने’ योजना खोजिरहेको बताए । 'यो युद्ध अन्त्य गर्न, सबै बन्धकलाई घर फर्काउन र गाजाका मानिसहरूका लागि राम्रो भविष्य निर्माण गर्न काम गर्ने क्षण हो', उनले भने ।

कतारी प्रधानमन्त्रीले इजरेली र अमेरिकी प्रतिनिधिमण्डलहरू युद्धविरामका लागि दोहामा भेट्ने जानकारी दिए । ब्लिङ्केनले वार्ताबारे थप विवरण दिन अस्वीकार गरे ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे ३१ मा एउटा योजना प्रस्तुत गर्नुभएको थियो । उक्त योजनामा अस्थायी रूपमा लडाइँ रोक्ने र गाजामा हमास लडाकूहरूले राखेका बन्धकहरूको रिहाइको प्रयास गर्ने थियो ।

तथापि वार्ता अल्झियो । यसमा एउटा प्रमुख अड्चन इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा–इजिप्ट सीमामा इजरेली सैनिकको उपस्थितिमा जोड दिने अडान थियो ।

इजरेल र साउदी अरेबियाको भ्रमणपछि तेस्रो चरणमा रहनुभएका ब्लिङ्केनले सिनवार मुख्य बाधक रहेको र उनको मृत्युले एउटा अवसर प्रदान गरेको आफ्नो भनाइ दोहोर्‍याए ।

कतारी प्रधानमन्त्री शेख मोहम्मदले हमासबाट ‘अगाडिको बाटो के हुनेछ’ भन्ने बारेमा अहिलेसम्म ‘कुनै स्पष्टता नभएको’ तर कतारी मध्यस्थकर्ताहरू सिनवारको मृत्युपछि समूहसँग ‘पुनः संलग्न’ भएको बताए । 'दोहामा राजनीतिक कार्यालयका प्रतिनिधिहरूसँग संलग्नता भएको छ । हामीले विगत केही दिनमा उनीहरूसँग केही बैठकहरू गरेका छौँ', इजिप्टको हमाससँग ‘निरन्तर’ छलफल भइरहेको जानकारी दिँदै उनले भने । 

अमेरिकी अधिकारीहरूले सिनवारलाई गाजाबाट बन्धकहरूको रिहाइसँगै युद्धविराममा अमेरिका, कतार र इजिप्टले मध्यस्थता गरेको वार्तामा अडान लिने व्यक्तिको रूपमा वर्णन गरेका थिए ।

आलोचकहरूले यो समस्या हमास मात्र नभई बाइडेन प्रशासनको इजरेलको समर्थन हासिल गर्न नसक्नु रहेको बताउँछन् । इजरेलले अमेरिकाबाट करिब निरन्तर अर्बौं डलर मूल्य बराबरको हतियार प्राप्त गरिरहेको छ ।

हमासले अझै सिनवारको उत्तराधिकारी छनोट गरेको छैन । हमासका दुई स्रोतका अनुसार समूहले एक व्यक्तिगत नेताको सट्टा दोहा–आधारित नेतृत्व समिति नियुक्त गर्नेतर्फ झुकाव राखेको छ ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले अमेरिका गाजाबारे ‘नयाँ ढाँचाहरू’ खोज्न तयार रहेको बताए । 'हामी विभिन्न विकल्पहरू हेरिरहेका छौँ तर प्रधानमन्त्रीले भने जस्तै हमास संलग्न हुन तयार छ कि छैन भन्ने हामीले अझै वास्तवमै निर्धारण गरेका छैनौँ', उनले भने, 'यद्यपि अर्को कदम वार्ताकारहरूलाई एकसाथ ल्याउने हो... हामी निश्चय नै आउने दिनहरूमा थप जान्नेछौँ ।'

उनले युद्ध अन्त्य गर्ने प्रयासको महत्त्वपूर्ण घटकका रूपमा हेर्दै गाजाको पुनर्निर्माण र युद्धपछिको शासनको योजनाबारे थप स्पष्टता पनि खोजिरहनुभएको छ । 

उनले प्यालेस्टिनीहरूका लागि थप १३ करोड ५० लाख डलरको सहायताको घोषणा गरे । यसले युद्ध सुरु भएयताको कूल रकम करिब एक अर्ब २० करोड डलर पुर्‍याएको छ ।

एजेन्सी

 

Comments

Back to top