भारतको ओडिशा र पश्चिम बङ्गालमा सामुद्रिक आँधीको सामना गर्न तयारी तिब्र, तीन दिनका लागि विद्यालय बन्द

भारतको ओडिशा र पश्चिम बङ्गालको तटमा दाना नामको सामुद्रिक आँधीको सम्भावित अवतरण अघि सरकारले तयारी तिब्र बनाएको छ । आज भारतीय वायु सेनाका दुई विमानहरूले राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारी तथा राहत सामग्री भुवनेश्वरमा लगेका छन् ।

भारतीय मौसम विज्ञान विभागले दाना आँधी भितरकनिका र ओडिशा तटमा अवतरण गर्ने अनुमान गरेको छ । आँधी बङ्गालको पूर्वी मध्य खाडीमा दवाब छोडेर पश्चिम–उत्तरपश्चिमतर्फ १८ किलोमिटर प्रति घण्टाको गतिमा अघि बढ्ने विभागले अनुमान गरेको छ । भोलि बिहानसम्म उत्तर–पश्चिम बङ्गालको खाडीमा गम्भीर चक्रवाती आँधीमा परिणत हुने र पर्सि शुक्रवार राति तथा आइतवार बिहान ओडिशा र पश्चिम बङ्गालको तट पार गर्ने सम्भावना रहेको जनाइएको छ।

ओडिशा राज्यले प्रभावित हुन सक्ने क्षेत्रमा भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । आँधीका कारण ओडिशा र पश्चिम बङ्गालमा भोलिदेखि तीन दिनसम्म अत्यधिक वर्षा हुने अनुमान छ । आँधीको सामना गर्न जहाजसहित सेना, नौसेना र तट रक्षकको अतिरिक्त उद्धार र राहत टोली तयारी अवस्थामा राखिएको छ ।

एजेन्सी

Comments

Back to top