विल्हेम हेगेल : द्वन्दवादी तर आदर्शवादी दार्शनिक

जर्मन दार्शनिक हेगेलको पूरा नाम जर्ज विल्हेम फ्रेडरिक हेगेल हो। उनको जन्म सन् १९७० अगस्ट २७ मा जर्मनीको स्टुटगार्टमा भएको थियो। उनको मृत्यु सन् १८३१ नोभेम्बर १४ को दिन जर्मनीको बर्लिनमा भयो। हेगेल १९औँ शताब्दीका पश्चिमा आदर्शवादी दार्शनिक हुन्। उनी द्वन्द्ववादी दार्शनिक पनि हुन्।

उनका अनुसार कुनै पनि वस्तु वा विचारको विकास द्वन्द्वात्मक प्रक्रियाबाट हुन्छ। कुनै वस्तु वा विचारको मूल रुपलाई उनले वाद (thesis) भनेका छन्। समय क्रममा त्यसभित्र स्वभाविक अन्तरविरोध विकसित हुन्छ र त्यसले विपरीत रुप लिन्छ। त्यसलाई उनले प्रतिवाद (antithesis) भनेका छन्। शुरुको चरणमा वाद र प्रतिवाद बीच सङ्घर्ष हुन्छ। समय क्रममा यी दुई बीच समन्वय र सन्तुलन कायम हुन्छ। त्यसलाई उनले सम्वाद (synthesis) भनेका छन्। सम्वाद समय क्रममा वादको रुपमा परिवर्तित हुन्छ। यस प्रकार वाद, प्रतिवाद र सम्वादको चक्र निरन्तर चलिरहन्छ।

कुनै वस्तु, समाज र विचारको विकासमा यो प्रक्रिया निरन्तर चलिरहेको हुन्छ। हेगेलले द्वन्द्ववादलाई स्वतः प्रेरित र स्वतः सञ्चालित भनेका छन्। अन्तरनिहित अन्तरविरोधी प्रवृत्तिको कारण यो सम्भव भएको हो। त्यसैले यो सधैँ प्रगतिगामी हुन्छ। यसलाई पूर्णता प्राप्तिका लागि ऐतिहासिक आवश्यकता भनेका छन्। विकासलाई द्वन्द्ववादको परिणाम भनेका छन्।

हेगेलको राज्य सम्बन्धी दृष्टिकोण महत्वपूर्ण छ। उनले राज्यलाई ईश्वरको अवतार हो भनेका छन्। उनी राज्यलाई ईश्वरको पृथ्वीमा अवतरण मान्छन्। उनको विचारमा राज्य ईश्वरको पार्थिव शरीर हो। राज्यलाई व्यक्तिभन्दा माथि ठानेका छन्। राज्यलाई सर्वोच्च नैतिक समुदाय भनेका छन्। राज्य साध्य हो र यो व्यक्तिभन्दा माथि हुन्छ भनेका छन्। व्यक्तिको मूल्य र महत्व राज्य मार्फत प्राप्त हुने उनको ठम्याइ छ।

उनले राज्यको विरुद्ध व्यक्तिको अधिकारलाई स्वीकार गर्दैनन्। उनका अनुसार राज्य भनेको पूर्ण विकसित सामाजिक नैतिकताको साकार रुप हो। राज्य सर्वोच्च र विवेकपूर्ण हुने उनको दृष्टिकोण छ। उनले राज्यको विरुद्ध नागरिक विद्रोहलाई स्वीकार गर्दैनन्। हेगेलले व्यक्तिको स्वतन्त्रता सम्बन्धमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। उनका अनुसार स्वतन्त्रता व्यक्तिको सार हो। स्वतन्त्रतालाई निषेध गर्नु भनेको मानवीयतालाई दुत्कार्नु हो भनेका छन्। स्वतन्त्र नहुन भनेको मानव नहुन बराबर हो भनेका छन्।

उनको विचारमा स्वतन्त्रता राज्यप्रतिको पूर्ण आज्ञाकारिता र कर्तव्यपालनमा निहित हुन्छ। हेगेलले साइन्स अफ लजिक, फिलोसोफी अफ राइट, फिलोसोफी अफ हिस्ट्री, फिलोसोफी अफ स्पिरिट र इन्साइक्लोपेडिया अफ द फिलोसोफिकल साइन्स जस्ता कृतिहरु प्रकाशित गरे। उनले विभिन्न विश्वविद्यालयमा दर्शनशास्त्र विषयको प्राध्यापन गरे। उनी १९ औँ शताब्दीका चर्चित आदर्शवादी दार्शनिक हुन्।

एजेन्सी

Comments

Back to top