इजरायली आक्रमणमा हमासका मुख्य नेता सिनवारको ज्यान गयो

इजरायलले हमासका मुख्य नेता याह्या सिनवारको ज्यान गएको पुष्टि गरेको छ । इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको जनाएको हो । यसबारे हमासको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।

त्यसअघि इजरायली विदेशमन्त्री इजरेल काट्जले  सिनवारको ज्यान गएको भएको भन्दै विभिन्न देशका आफ्ना समकक्षीलाई व्यक्तिगत सन्देश पठाएको बीबीसीले जनाएको छ । सन्देशमा उनले गएको वर्ष अक्टोवर ७ मा भएको आक्रमणको मुख्य योजनाकर्ता हमास नेतालाई इजरायली सैनिकले मारेको उल्लेख गरेका छन् ।

यसअघि आइडीएफले सिनवारको ज्यान गएको हुनसक्ने भन्दै डीएनए परीक्षण भइरहेको जनाएको थियो । लगत्तै विदेशमन्त्रीले ज्यान गएको पुष्टि गरेका खबरमा उल्लेख छ । यसअघि इरानमा भएको एक आक्रमणमा हमासका राजनीतिक कमाण्डर इस्माइल हनियाको ज्यान गएको थियो । हनियाको ज्यान गएपछि सिनवार नै हमासको मुख्य नेता थिए ।

यसैबीच गाजामा हमाससँगको युद्धमा सिनवारको मारिनु इजरायलको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । सिनवारको ज्यान जानु हमासको लागि गम्भीर धक्का भएको बताउँदै प्रधानमन्त्री नेतान्याहुले इजरायलको विजय प्राप्त गरेको तर युद्धको अन्त्य नभएको प्रतिक्रिया दिएका छन् ।

एजेन्सी

Comments

Back to top